नेपालले यस वर्ष भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बंगलादेश विद्युत् निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक ३० मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् निर्यात गरेको थियो । प्राधिकरणले यसवर्ष असार १ (जुन १५) अर्थात् आज राति १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो ।
गतवर्षको असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीत विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो सिजनको अन्तिम दिन अर्थात् कात्तिक ३० गते दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म करिब १२ घण्टामात्र विद्युत् निर्यात भएको थियो ।
नेपालले हरेक वर्ष पाँच महिना वर्षाद्को समयमा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दै आएको छ । गत वर्ष बंगलादेशसँग विद्युत् निर्यात सम्झौता गरेको नेपालले त्यसवेला जम्मा १२ घण्टामात्र विद्युत् निर्यात गर्न पाएको थियो । यो वर्ष भने आजदेखि पाँच महिना निरन्तर बंगलादेशमा विद्युत् निर्यात गर्नेछ ।
उर्जामन्त्री दीपक खड्काले उत्पादन निर्यात गरेर आयत घटाउनसक्ने प्रमुख क्षेत्र विद्युत् भएको बताए । नेपाल विद्युत् प्राधिकरणले त्रिशूली जलविद्युत् केन्द्रबाट उत्पादित १८.६० मेगावाट र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित २१.४० मेगावाट विद्युत् निर्यात गर्न नेपाल, भारत र बंगलादेशबीच गतवर्ष सम्झौता भएको थियो ।
आजदेखि बंगलादेश निर्यात सुरु गरिएको विद्युत् आगामी नोभेम्बर १५ सम्म निर्यात हुनेछ । पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत् निर्यात हुने नेपाल विद्युत् प्राधिकरणका विद्युत् प्रणाली नियन्त्रण विभागका उप–प्रबन्धक सुवर्ण सापकोटाले जानकारी दिए ।
उक्त विद्युत् बिक्रिवापत नेपाल सरकारले पाँच महिनामा ९४ लाख अमेरिकी डलर अर्थात् एक अर्ब २९ करोड नेपाली रुपैँया आम्दानी गर्नेछ । उक्त सम्झौता बमोजिम निर्यात हुने विद्युत्को बिक्रीदर ६.४० अमेरिकी सेन्ट प्रतियुनिट रहेको छ । उक्त विद्युत् नेपालको ४०० केभी ढल्केबर सबस्टेसनबाट भारतको मुजफरपुर, बेहरामपुर हुँदै बंगलादेशको भेरमारा सबस्टेसनसम्म पुग्नेछ ।
उर्जा क्षेत्रमा दीर्घकालीन महत्व राख्ने विद्युत् निर्यातले नेपालको उर्जा सन्तुलन, नेपालको जलविद्युतको अधिकतम उत्पादन र उपयोग तथा देशको अर्थतन्त्र उकास्न योगदान दिने अपेक्षा गरिएको छ । नेपाल सरकारको उर्जा विकास मार्गचित्र–२०८१ को अवधारणा अनुसार सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गरी १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य लिएको छ ।
भारतमा पनि विद्युत् निर्यात निरन्तरता
नेपाल विद्युत् प्राधिकरणले भारतमा पनि विद्युत् निर्यातलाई निरन्तरता दिएको छ । प्राधिकरणले यसवर्ष भारतको हरियाणा राज्यमा पनि विद्युत् निर्यात सुरु गरिसकेको छ । जेठ १८ (जुन १) बाट १८५ मेगावाट विद्युत् निर्यात गर्दै आएको प्राधिकरणले शनिबारदेखि सोही स्थानका लागि २०० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो ।
नेपाल र भारतबीच भएको द्विपक्षीय सम्झौता बमोजिम यो विद्युत् निर्यातको बिक्री दर ५.२५ भारतीय रुपैयाँ प्रतियुनिट रहेको छ । प्राधिकरणले आज राति १२ बजेदेखि नै भारतको बिहार राज्यमा पनि ८० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ ।
यसबाहेक ढल्केबर–मुजफरपुर ४०० केभी र १३२ केभी प्रसारण लाइनबाट समेत भारतीय बजारमा थप विद्युत् खरिद बिक्री भइहेको छ । वर्षायाम लागेसँगै नेपालमा विद्युत्को उत्पादन बढेकाले नेपालको आन्तरिक माग पूरा भएपछि बाँकी रहेको विद्युत् भारत र बंगलादेशमा निर्यात सुरु गरिएको हो ।
सत्यपाटी