आज आइतबार देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०८२–०८३ का लागि बजेट प्रस्तुत गर्दैछन् । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीले आय–व्यवको विवरणसहितको बजेट प्रस्तुत गर्दैछन् ।
केन्द्र सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारहरूले असार १ गते बजेट ल्याउनैपर्छ । यसअघि संघीय सरकारले जेठ १५ मा बजेट प्रस्तुत गरेको थियो ।
तर, प्रतिनिधिसभामा देखिएको अवरोधका कारण बजेटमाथिको छलफल अघि बढ्न सकेको थिएन । रास्वपा लगायत प्रतिपक्षी दलको अवरोधबीच सभामुखले शुक्रबार बैठक सञ्चालन गरेपछि आउँदा बैठकमा बजेट सम्बन्धी छलफल अघि बढ्ने अपेक्षा गरिएको छ ।
यसैबीच, लुम्बिनीमा आइतबार दिउँसो ३ बजे बस्ने प्रदेशसभाको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले राजश्व र व्ययको वार्षिक अनुमान प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम छ । सरकारले यस वर्षको बजेटमा प्रदेशको समृद्धि र विकाससँग जोडिएका मुख्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट केन्द्रित गर्ने सरकारको तयारी छ । मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रमको जगमा उभिएर बजेट ल्याइने उल्लेख गर्दै यस बजेटले समग्र लुम्बिनी प्रदेशको समृद्धि र विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
प्रदेश सरकारको नीति तथा कार्यक्रमको निरन्तरतामा आधारित यो बजेटले प्रदेशवासीको जीवनस्तर उकास्ने विश्वास सरकारले लिएको छ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३८ अर्ब ९७ करोडको बजेट ल्याएको थियो । यो आकारको तुलनामा आगामी बर्षको बजेट घटाएर ल्याउने तयारी भएको सरकारका प्रवक्ता दिनेश पन्थीले जानकारी दिए ।
प्रदेशले यो वर्षदेखि घाटा बजेट नल्याएर यथार्थपरक ल्याउने भन्दै बजेटको सिलिङ ३२ अर्ब तोकेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१–०८२ कै हाराहारीमा नयाँ बजेट ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१–०८२ मा २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट प्रस्तुत गरेको थियो ।
आज साँझ ५ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्ने कार्यसूची छ । संघीय राजधानीसमेत रहेको बाग्मती प्रदेशले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा ६८ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०८१–०८२ मा बागमतीले ६२ अर्ब ७० करोड बराबरको बजेट ल्याएको थियो । मधेश प्रदेशले आर्थिक वर्ष २०८१–०८२ मा ४४ अर्ब ११ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । कोशी प्रदेशले ३६ अर्ब २४ करोड ३५ लाख, गण्डकी प्रदेशले ३३ अर्ब ४२ करोड ७२ लाख र लुम्बिनी प्रदेशले ४० अर्ब ४७ करोड ९७ लाख बराबरको बजेट प्रस्तुत गरेका थिए ।
सत्यपाटी