छिमेकी भारतको पुरानो दरभंगा राज्यका महाराज रामेश्वर सिंहको नासो महोत्तरीको गौशालास्थित निगौल गौशाला अहिले लथालिंग बनेको छ । साधन स्रोत भएर पनि त्यसको कुशल व्यवस्थापन नहुँदा एक समयको साख मानिने गौशालाको अवस्था नाजुक बनेको हो । विसं १९८३ तिर तत्कालीन दरभंगा महाराज रामेश्वर सिंहले २०० बिघा जग्गा र १ हजार ५०० लैना गाईको व्यवस्थापन गरेर नेपाल सरकारलाई जिम्मा लगाएका थिए, निगौल गौशाला ।
अहिले भद्रगोल अवस्थामा छ । दरभंगा महाराजले आफ्ना प्रतिनिधि ब्रह्मदेव ठाकुरमार्फत गौशाला सञ्चालनको प्रबन्ध नेपाल सरकारलाई सुम्पेका थिए । त्यसयताका १०० वर्षमा यसको विकासको सट्टा अधोगति हुँदै जाँदा अब निगौल गौशाला अस्तित्व धान्न नसक्ने अवस्थामा पुगेको छ । जग्गा, बजार, गोठ एवं पक्की कार्यालय भवनसहितका साधन स्रोत भए पनि यी गौशालाको हितमा प्रयोग नभएपछि संस्थाको अवस्था खस्कँदै गएको गौशाला–९ डुमरवानाका ६५ वर्षीय शिवशरण राय बताउँछन् ।
कहिलेकाहीं सरकारका मन्त्री, विभिन्न निकायका प्रमुख र जनप्रतिनिधि पुगेर अब यो फेरिन्छ भन्ने गरेका कुरा अब यहाँका बासिन्दाका लागि पत्यारिलो हुन छाडेको छ । पछिल्लोपटक गत माघ मसान्तताका अहिलेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गौशालाको स्थलगत अवलोकन गरेर यसको दीर्घकालिन समाधानका लागि पहलकदमी लिइने बताएको यहाँका बासिन्दा सम्झिन्छन् ।
स्थापनाकालदेखि नै तत्कालीन सरकारले यसको रेखदेख र व्यवस्थापन त्यतिखेरका बडाहाकिमलाई तोकेको थियो । पछि अञ्चलाधीश र ०४७ सालयता जिल्ला प्रशासन कार्यालयको जिम्मेवारीमा रहने व्यवस्था ०६८ सालसम्म रह्यो । त्यसयता राष्ट्रीय सहकारी विकास बोर्ड अभिभावकत्वको यो संस्था अब राष्ट्रीय सहकारी नियमन प्राधिकरणअन्तर्गत रहने प्रस्ताव छ ।
खासमा, जिल्लामा सरकारका मुख्य प्रतिनिधिका हैसियतमा प्रमुख जिल्ला अधिकारी गौशाला सञ्चालक बोर्डको अध्यक्ष रहने प्रावधान हटेपछि स्थानीय रूपमा अभिभावकत्व गर्ने कोही नहुँदा यहाँको मनपरी झन् बढेको गौशालाका बासिन्दा बताउँछन् । गौशाला र निगौलमा गरी ६ वटा गोठमा भरिभराउ रहने गाई अहिले तीनवटा गोठमा खुम्चिएका छन् । ०६८ सालसम्म यहाँ गाईको संख्या झण्डै ५०० को हाराहारीमा रहेकामा अहिले १०० भन्दामुनि खुम्चेको छ ।
‘गाईले राम्ररी खान पाएका छैनन्,’ गौशाला नगरप्रमुख डा.दीपेन्द्र महतो भन्छन्, ‘संघीय सरकारले यसको निदानमा पहिलो तत्परता देखाउनुपर्छ ।’ निगौल गौशालासँग भएको जग्गाको वैधानिक स्वामित्व, गोठ र भवनहरूसहितका संरचना व्यवस्थित गर्नसके यो ठाउँ धार्मिक पर्यटन र आर्थिक उपार्जनका लागि उर्बर बन्न सक्ने आफूसँग कार्ययोजना रहेको डा.महतो बताउँछन् । स्वामित्वसहितको जिम्मेवारी दिन अड्चन भए व्यवस्थापनको जिम्मा मात्र दिए पनि नगरपालिकाले यसको सम्भार गर्ने प्रतिबद्धता जनाएको नगरप्रमुख महतो बताउँछन् ।
निगौल गौशाला सञ्चालनका लागि अहिले पनि स्रेस्तामा १४८ बिघा जग्गा छ । गौशाला दरभंगा महाराजबाट उपहारमा प्राप्त नासो भएकाले यसको अतिक्रमित जग्गा स्वामित्वमा फर्काउन संकल्पसहितको योजना चाहिने गौशाला–२ निगौलकै बासिन्दा रहेका महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी बताउँछन् । गौशालाका सर्वसाधारण गौशालाको पूर्वस्थिति फर्काउन तीनै तहका सरकारको समन्वयात्मक पहलकदमी हुन्पर्नेमा उनको जोड छ ।
गौशालामा अहिले पनि राष्ट्रीय सहकारी बोर्डले पठाएका ज्यालादारीसहित ३० जना कर्मचारी छन् । आपूm साउन ०७९ मा जिम्मेवारीमा आउँदा ७० लाखभन्दा माथि रहेको कार्यालयले तिर्नुपर्ने बक्यौता खेतीपातीबाटै भएको आम्दानीबाट तिरेर २४ लाखमा झारेको अहिलेका कार्यालय प्रमुख वीरबहादुर चौधरी बताउँछन् । भन्छन्, ‘आर्थिक अवस्था भने फेरिएको छैन ।’ गौशालाले पाउनुपर्ने रकम नआएको उनको गुनासो छ ।
गौशालाले पोखरी ठेक्का र बाली ठेक्काबाट ७९ लाख करिब पाउनुपर्ने रकम ठेकदारबाट नपाउँदा आर्थिक समस्या झेल्नुपरेको चौधरी बताउँछन् । गौशालाको नाममा १४८ बिघामध्ये राजनीतिक क्षेत्रबाट संरक्षित व्यक्तिहरूबाट झण्डै ५० बिघाजति अतिक्रमणको चपेटामा परेको जनाइएको छ । यो अतिक्रमण गरिएका जग्गामा घर ठडिएका छन् । जग्गामध्येमा १० बिघामा गाई गोठ, ९–९ बिघामा पोखरी र फूलबारी र करिब ५६–५७ बिघाजति खेतीयोग्य जग्गा छ । गाई गौशालाको जग्गामध्ये तीन बिघामा गौशाला नगरपालिकाले पशु हाट लगाउँदै आएको छ ।
