२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

कहिले प्रकाशित होला एसइई परीक्षाको नतिजा ?

माध्यमिक शिक्षा परीक्षा (एसइई) सकिएको दुई महिना बितिसकेको छ । एसइई परीक्षा दिएका करिब पाँच लाख विद्यार्थीहरू यतिखेर यही नतिजाको पर्खाइमा छन् । अघिल्ला वर्षहरूमा एसइई परीक्षा नतिजा असार दोस्रो वा तेस्रो हप्तामा प्रकाशित हुने गरेको थियो ।

तर, यस वर्षको परीक्षा नतिजा प्रकाशनमा शिक्षकहरूको आन्दोलनका कारण ढिलाई हुने देखिएको छ । २०८१ सालको एसइई परीक्षा गत चैत ७ गतेबाट सुरू भएर १४ गते सकिएको थियो । प्राविधिक धारतर्फको भने चैत १९ गते सकिएको थियो ।

तर उत्तरपुस्तिका परीक्षण गर्ने बेला चैत २० गतेदेखि नै ‘शिक्षा विधेयक’ जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षक तथा कर्मचारीहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भए ।

आन्दोलन अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघले विज्ञप्ति नै जारी गरेर एसइई परीक्षाको उत्तरपुस्तिका परीक्षणमा सहभागी नहुन शिक्षकहरूलाई उर्दी जारी गरेपछि उत्तरपुस्तिका परीक्षणको काम रोकिएको थियो । उनीहरूको आन्दोलन २९ दिनसम्म चल्यो ।

गत वैशाख १७ गते सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएपछि भने शिक्षकहरू घर फर्किएका थिए । त्यसपछि बन्द भएका सामुदायिक विद्यालय खुले । नयाँ भर्नासँगै पठनपाठन पनि सुरू भयो । रोकिएको एसइई उत्तरपुस्तिका परीक्षण कार्य पनि सुरू भएको थियो ।

नतिजा प्रकाशनबारे के भन्छ बोर्ड ?

परीक्षा बोर्डले परीक्षा सञ्चालन सकिएपछि असार पहिलो हप्तामा नतिजा प्रकाशन गर्ने लक्ष्य लिएको थियो । तर,शिक्षक आन्दोलनले समयमा उत्तरपुस्तिका परीक्षण नहुँदा यो समयमा नतिजा प्रकाशन हुने छाँटकाँट छैन ।

अब कहिलेसम्ममा नतिजा प्रकाशित होला भन्ने प्रश्नमा बोर्डले समेत यकिन समय तोक्न सकेको छैन । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप–नियन्त्रक तारानाथ निरौलाका अनुसार अहिले परीक्षण केन्द्रहरूबाट उत्तरपुस्तिका परीक्षण सकिएर केन्द्रमा आउने क्रम जारी छ ।

‘अझै सबै परीक्षण केन्द्रहरूबाट उत्तरपुस्तिका आइसकेको छैन,आउने क्रम जारी छ,’ उनले भने, ‘सबै परीक्षण केन्द्रहरूबाट परीक्षण भएको तथ्यांकसहितको उत्तरपुस्तिका आइसकेपछि मात्रै यो समयमा नतिजा प्रकाशन हुन्छ भनेर भन्न सक्छौँ, अहिले चाही भन्न सक्दैनौँ ।’

यसले पनि एसइई परीक्षा नतिजा प्रकाशनमा असर पुग्ने देखिएको छ । ‘पहिलो त शिक्षक आन्दोलनले परीक्षण काम ढिला भयो, अहिले बाटोको कारण पनि भनेजस्तो समयमा उत्तरपुस्तिका यहाँ ल्याउन सकिएको छैन, नवलपरासीबाट यहाँसम्म ल्याउन मात्रै चार दिन लाग्यो, त्यसैले पनि अहिले हामी एसइई नतिजा प्रकाशन समयबारे भन्न सक्ने अवस्थामा छैनौँ,’ उनले भने ।

यस वर्षको मनसुन भित्रिसकेको छ । जसकारण विभिन्न ठाउँका सडक अवरूद्ध हुन थालेको छ । झनै विकट ठाउँबाट उत्तरपुस्तिका ल्याउन समय लाग्ने देखिएको उनको भनाइ छ । ‘हाम्रो तर्फबाट चाही सक्दो छिटो प्रकाशित गर्ने भन्नेमा छौँ, त्यहीअनुसार काम पनि भइरहेको छ,’ उनले भने ।

१५ हजार विद्यार्थीले दिएनन् एसइई

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का अनुसार यो एसइई परीक्षामा सामुदायिक र संस्थागत गरी जम्मा ११ हजार २१६ वटा विद्यालयबाट ५ लाख १४ हजार ७१ जनाले फाराम भरेका थिए । तर यी सबै विद्यार्थी परीक्षामा भने सहभागी भएका छैनन् । बोर्डले फाराम भरेका नियमित र ग्रेडवृद्धि सबैगरी करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी नभएको जनाएको छ ।

परीक्षाका लागि देशभर २ हजार ७९ वटा र जापानमा एउटा परीक्षा केन्द्र तोकिएको थियो । एसइई परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन भएको थियो । पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषय, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा भएको थियो । चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङलिस) लगायत विषयको परीक्षा समावेश थियो ।

प्रकाशित मिति : २०८२ जेठ २६ गते सोमबार