गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोनाको संक्रमण देखापरेको छ । सो नाका हुँदै फर्केका पाँच महिलाको शुक्रबार ‘एन्टिजेन’ परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको हो । तीमध्ये तीन जना कैलाली र दुईजना अछामका हुन् ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार भारतबाट फर्केका शंकास्पद ३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । कोरोना संक्रमित पाँचै जनालाई ‘होम क्वारेण्टाइन’मा बस्न परामर्श दिइएको छ ।
दुई दिनअघि मात्रै यही नाका भएर भारतबाट आएका ३६ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीन दिनमा भारतबाट फर्केका आठ जनामा कोराना संक्रमण देखा परेको सूचना अधिकारी जोशीले जानकारी दिए ।
संक्रमितहरूमा ज्वरो र रुघाखोकीको समस्या रहेको उनको भनाइ छ । एन्टिजेनको नतिजा पोजेटिभ आएका आठैजनाको नमुना काठमाडौंस्थित प्रयोगशालामा पठाइएको छ । आपतकालीन सञ्चालन केन्द्रले सीमा नाकामा तीन दिनदेखि ‘हेल्थ डेस्क’ राखेर कोराना परीक्षण गर्दै आएको छ ।
