२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

‘एक घर, एक धारा’ अभियानले ल्याएको खुसी

बागलुङ्ग जिल्लाको विकट मानिने निसीखोला गाउँपालिका–६ स्थित भल्कोट र बुढाथोकमा ‘एक घर, एक धारा’ निर्माण गरिएको छ । गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को सहलगानीमा भल्कोट र बुढाथोक गाउँका ९४ घरमा ‘एक घर, एक धारा’ निर्माण गरिएको हो । वर्षौँदेखि सीमित धाराबाट पानी उपभोग गर्दै आएका स्थानीय हाल आँगनमै धारामा पानी आएपछि दङ्ग छन् ।

भल्कोट गाउँमा मोराखेला खानेपानी आयोजनामार्फत धारा निर्माण गरिएको हो । यहाँ नेवाको रु १३ लाख ३० हजार ११३, गाउँपालिकाको रु सात लाख ७७७ र जनश्रमदान आठ लाख छ हजार ३७१ गरी कूल २८ लाख ३७ हजार २६१ मा ५५ धारा निर्माण गरिएका छन् । भल्कोट गाउँमा चार हजार ९१५ मिटर टाढा रहेको मोराखोलाबाट पाइपलानमार्फत पानी घरघरमा पुर्याइएको हो ।

नेवा बागलुङका कार्यक्रम अधिकृत विनोद कोइरालाका अनुसार आयोजना सम्पन्न भएर धारामा पानी आउन थालेको छ । यस्तै, बुढाथोकमा नेवाको ११ लाख ५५ हजार १५, गाउँपालिकाको छ लाख ६४ हजार ९५५ र जनश्रमदान छ लाख ५७ हजार ९०८ गरी कूल २४ लाख ७७ हजार ८७८ मा ३९ धारा निर्माण गरिएको उनले जानकारी दिए । यस गाउँमा २०० मिटर लामो दूरीमा रहेको मुहानबाट पाइपमार्फत घरघरमा पानी पुर्याएको छ ।

गल्कोट र बुढाथोक गाउँमा लामो समयदेखि खानेपानीको समस्या रहेको र स्थानीयका मागपछि पालिकासँगको सहकार्यमा धारा निर्माण गरिएको कोइरालाले बताए । घर–घरमा पानी आएपछि स्थानीय हर्षित भएका छन् । यसअघि सार्वजनिक धारामार्फत खानेपानी वितरण हुँदै आएकामा आयोजनाको संरचना जीर्ण भएपछि नियमित आपूर्तिमा समस्या रहेको स्थानीय रामकुमारी बुढा मगरले बताए ।

स्थानीयलाई खान, स्नान र कपडा धुनका लागि निकै समस्या हुने गरेको उनको भनाइ छ । अब घरमै धारा बनेपछि समस्या समाधान हुने विश्वाससहित उनले भने, ‘गाउँमा धेरै वर्ष अगाडि बनेका थोरै धारा थिए, ती धाराबाट पानी थाप्न समस्या छ । सानो पानी आउने, धेरैले एकैपटक पानी भर्न खोज्दा लाइनमा बस्नुपर्ने, सरसफाइ गर्न र वस्तुभाउलाई पानी खुवाउनका लागि गाह्रो थियो । अब त घरमै धारो बन्यो, पहिलेको जस्तो समस्या हुँदैन कि भन्ने अपेक्षा गरेका छौँ ।’

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले सबै नागरिकलाई घर–घरमा स्वच्छ खानेपानीको सुविधा दिने गरी काम गरिएको बताए । अधिकांश गाउँ बस्तीमा ‘एक घर, एक धारा’ निर्माण भएर सञ्चालनमा आएको र बाँकी बस्तीमा पनि गाउँपालिकाले विभिन्न संस्थासँग सहकार्य गरेर पानी पुर्याउने काम गरिरहेको उनले जानकारी बताए । एक दशक अगाडिसम्म धेरै गाउँमा सार्वजनिक धारोबाटै पानी उपभोग गर्नुपर्ने बाध्यता थियो ।

प्रकाशित मिति : २०८२ जेठ १७ गते शनिबार