जलवायु परिवर्तनले विश्वका ४० प्रतिशत हिमनदी पग्लने निश्चित भएको छ । विश्वको औसत तापमान २.७ डिग्री सेल्सियसले बढेमा तीन चौथाइ हिमनदी गुम्ने अध्ययनले देखाएको छ । तापमान वृद्धिको वर्तमान दर कायम रहेमा यो शताब्दीको अन्त्यसम्ममा औद्योगिक क्रान्तिअघिको तुलनामा तापमान २.७ डिग्री सेल्सियस बढ्ने वैज्ञानिकहरूको अनुमान छ ।
जीवाश्म इन्धनको प्रयोगबाट निस्कने उत्सर्जनले तापमान वृद्धिमा सबैभन्दा ठूलो भूमिका खेल्छ । हिमनदीको क्षतिले विश्वभर गहिरो प्रभाव पार्छ । ठूलो मात्रामा हिमनदी पग्लँदा समुद्री सतह बढ्छ, जसले तटीय क्षेत्रका लाखौँ मानिसलाई बसाइँ सर्न बाध्य बनाउँछ । हिमनदीमा आधारित नदीहरू सुक्दा अर्बौँ मानिसलाई खानेपानी र सिँचाइका लागि पानीको अभाव हुने अध्ययनको निष्कर्ष छ ।
पेरिस सम्झौताले तोकेको १.५ डिग्री सेल्सियस तापमान वृद्धि सीमामा राख्न सके आधा हिमनदीको बरफ बचाउन सकिन्छ, तर उत्सर्जन बढिरहेकाले यो लक्ष्य टाढिँदै गएको वैज्ञानिकहरू बताउँछन् । तापमानको एक डिग्रीको दशौँ भाग रोक्न सकिए २.७ खर्ब टन बरफ बचाउन सकिन्छ । पश्चिमी अमेरिका र क्यानडाका ७५ प्रतिशत हिमनदी पग्लने निश्चित छ ।
‘हिन्दुकुश र काराकोरमका उच्च, चिसा पहाडका हिमनदीहरू केही हदसम्म संकट थेग्न सक्छन्, तर विश्वव्यापी तापमान बढ्दा यी हिमनदी पनि ठूलो स्तरमा खुम्चिन्छन्,’ अध्ययनमा भनिएको छ । यो अनुसन्धानले शताब्दीको अन्त्यपछि पनि हिमनदीको अवस्था आकलन गर्न बहु–मोडेल प्रयोग गरेको छ । हिमनदी पग्लँदा समुद्री सतह बढ्नुका साथै हिमताल विस्फोटको जोखिम बढ्छ, जसले तल्लो भेगका समुदाय र पारिस्थितिक प्रणालीमा असर गर्छ ।
हिमनदी पर्यटनमा निर्भर क्षेत्रहरू झन् प्रभावित हुनेछन् । ‘हाम्रो अध्ययनले तापमानको प्रत्येक अंश महत्त्वपूर्ण छ भन्ने स्पष्ट गर्छ । आजका छनोटहरूले शताब्दीऔँसम्म प्रभाव पार्छ र हिमनदीहरूको सुरक्षा निर्धारण गर्छ,’ बेल्जियमको भ्रिये युनिभर्सिटी ब्रसेल्सका डा.ह्यारी जेकोलारीले भने ।
अस्ट्रियाको इन्सब्रक विश्वविद्यालयका डा.लिलियन शुस्टर भन्छिन्, ‘हिमनदी घट्दा जलवायु परिवर्तन आफ्नै आँखाले देख्न सकिन्छ । तर यो प्रक्रिया लामो समयसम्म समायोजन हुने भएकाले वर्तमान अवस्था देखिएभन्दा खराब छ । तत्काल कार्य गर्न ढिलो भइसकेको छैन । प्रत्येक डिग्रीको दशौँ भाग कमीले हिमनदीको क्षतिबाट हुने मानवीय पीडा कम गर्न सकिन्छ । यो सन्देशले मानिसहरूलाई आशा दिन्छ ।
अध्ययनले सन् २०२० लाई आधार वर्ष मानेको छ, तर विगत शताब्दीको तापमान वृद्धिले हिमनदीहरूले ठूलो बरफ गुमाइसकेका छन् । ऐतिहासिक तथ्याङ्कको अभावले क्षतिको परिमाण निर्धारण गर्न कठिन छ । डा.जेकोलारीका अनुसार सन् १८५० मा हिमनदीहरू अहिलेभन्दा ठूला थिए । ‘साइन्स’ जर्नलमा प्रकाशित यो अध्ययनले आठ हिमनदी मोडेल प्रयोग गरेको छ, जसलाई वास्तविक अवलोकनका आधारमा क्यालिब्रेट गरिएको छ ।
यी मोडेलले विश्वका २ लाख हिमनदी (ग्रिनल्यान्ड र अन्टार्कटिका बाहेक) मा बरफको क्षति अनुमान गरेका छन् । अनुसन्धानकर्ताले केही अनिश्चितता स्वीकारे पनि ४० प्रतिशत हिमनदी लोप हुने निश्चित छ, र खराब अवस्थामा यो ५५ प्रतिशतसम्म पुग्न सक्छ । आर्कटिक क्यानडाको दक्षिणमा ८० प्रतिशत र हिन्दुकुश–काराकोरम–हिमालयको पश्चिममा ५ प्रतिशत हिमनदी लोप हुने देखिएको छ ।
तापमान २.७ डिग्री सेल्सियस पुग्दा १९ प्रमुख हिमनदी क्षेत्रका ८० प्रतिशत हिमनदी गुम्नेछन्, जसमा युरोपदेखि पूर्वी हिमालय, रुसी आर्कटिक, पश्चिमी अमेरिका र आइसल्यान्डका हिमनदी पूर्ण रूपमा हराउनेछन् । हिमनदीहरूले हाल समुद्री सतह वृद्धिको एक चौथाइ योगदान गर्छन् । लोप हुने निश्चित हिमनदीले ११ सेन्टिमिटर समुद्री सतह बढाउँछ । तापमान २.७ डिग्री सेल्सियस पुग्दा यो २३ सेन्टिमिटर पुग्छ, तर १.५ डिग्रीमा सीमित गरे १४ सेन्टिमिटरमा झर्छ ।
‘हिमनदीहरू जलवायु परिवर्तनका प्रतिष्ठित उदाहरण हुन्,’ यूकेको नर्थम्ब्रिया विश्वविद्यालयका प्राध्यापक एन्ड्रु शेफर्ड भन्छन्, ‘यो प्रक्रिया शताब्दीऔँसम्म चल्छ । जीवाश्म इन्धनको प्रयोग जारी राखे पहाडी परिदृश्य चिन्न नसकिने हुनेछ ।’ ‘हिमनदी टाढा लागे पनि तिनको क्षति सबैका लागि महत्त्वपूर्ण छ । बेलायतमा कार चलाउँदा उत्सर्जन हुने ग्यासले १० हजार किलोमिटर टाढाको हिमनदी पग्लन मद्दत गर्छ,’ डा.जेकोलारीले भने ।
