तरकारी खेतीका लागि चर्चित बाँकेको डुडुवा गाउँपालिका–६, हिरमिनियाका किसान मकै खेतीतर्फ पनि आकर्षित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले हिरमिनियालाई तरकारी र मकै पकेट क्षेत्र बनाएसँगै यहाँका किसानले तरकारी खेतीसँगै मकै खेती पनि विस्तार गर्दै गएको डुडुवा गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
डुडुवा गाउँपालिकाका कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले डुडुवा गाउँपालिका–६ मा मात्रै २५० हेक्टरमा मकै खेती गरिएको बताए । उनका अनुसार तरकारी खेती र मकै दुवैबाट राम्रो फाइदा हुन थालेपछि हिरमिनियाका अधिकांश किसान त्यसतर्फ आकर्षित भएका छन् । डुडुवा–६, भँगोटनाका किसान जयपाल मौर्यले उत्पादन र आम्दानी दुवै राम्रो भएपछि ९० कट्ठा जग्गामा आफूले मकै खेती गरेको जनाउँदै आलु खनेलगत्तै बेमौसमी मकै लगाएको बताए ।
किसान मौर्यले मकैमा राम्रो आम्दानी हुने गरेको जनाउँदै एक कट्ठामा चार क्विन्टल मकै उत्पादन हुने गरेको बताए । उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले हिरमिनियालाई तरकारीसँगै मकै पकेट क्षेत्र पनि बनाएको बताए । वडा नम्बर ६ का वडाध्यक्ष मोहनराम मिश्रले बाँकेको अन्य ठाउँका खेतबारी बाँझो भए पनि हिरमिनियाका अधिकांश खेतबारीमा मकै र तरकारीले हरियाली छाएको बताए ।
उनले कम जग्गा भएकाले तरकारी खेती गरी आफैँ बजारमा लगेर बेच्ने गरेको जनाउँदै आफूले समेत तरकारी र मकै दुवै खेती गरिरहेको बताए । वडाध्यक्ष मिश्रका अनुसार हिरमिनियाका किसानले मकै खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् । मकैलाई नगदे बालीका रूपमा लिएका हिरमिनियाका किसानले मकै खेती गर्न आधुनिक कृषि प्रविधिको प्रयोगसमेत गर्दै आएका छन् ।
हिरमिनियाका अर्का किसान रमेश मौर्यले आधुनिक कृषि प्रविधिको प्रयोगले उत्पादनमा वृद्धि हुनुका साथै श्रम र लागतमा समेत कमी आएको बताए । उनले तरकारी र मकै खेतीले जिल्ला र देशबाहिर मजदुरी गर्न जाने युवालाई स्थानीय स्तरमा रोजगारी दिएर विदेश जानबाट रोक्ने काम गरेको बताए । सरकारले सिँचाइको व्यवस्था गरिदिए हिरमिनियामा झन् राम्रो तरकारी र अन्य खेती गर्न सकिने अधिकांश किसानको धारणा छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके