सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको सुशील कोइराला क्यान्सर अस्पताल ‘हाकिम’विहीन

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल गत दुई महिनादेखि प्रमुखविहीन भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा.प्रकाश प्रसाद साहको दुई महिनाअघि सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा भएपछि उनको ठाउँमा कसैलाई नपठाउँदा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल प्रमुख विहीन भएको हो ।

अस्पतालमा कार्यरत डा.प्रवीण गुप्तालाई निमित्त निर्देशकको जिम्मेवारी दिए पनि उनलाई आर्थिक अधिकार नदिंदा अस्पतालको प्रशासनिक लगायत आर्थिक कार्यहरु प्रभावित भएको अस्पतालले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यकारी निर्देशक पठाउन ढिलाई गरेका कारण अस्पतालको आर्थिक तथा प्रशासनिक कार्य प्रभावित भएको अस्पताल विकास समितिका सदस्य महेन्द्र मल्लले बताए ।

उनका अनुसार नयाँ प्रमुख नआउँदा कर्मचारीहरुले तलव खान पाएका छैनन् भने रिएजेन्ट, केमिकल र औषधीको अभाव हुन थालेको छ । प्रयोगशाला सेवा प्रभावित हुन थालेपछि त्यसको मार बिरामीलाई पर्न थालेको छ । बिरामीहरुलाई चेकजाँचका लागि बाहिर पठाउनु पर्ने बाध्यता हुन थालेको छ । यसले बिरामीहरुलाई आर्थिक भार थपिने स्थिति उत्पन्न भएको छ । त्यसैगरी प्रमुख नहुँदा अस्पतालका भौतिक पूर्वाधार निर्माणका काम पनि प्रभावित हुन थालेको पनि अस्पताल विकास समितिका सदस्य मल्लले बताए ।

डे केयर भवन, अस्पताल फार्मेसी, ल्याव भवनको निर्माण कार्य पनि प्रभावित हुन थालेको उनको भनाइ छ । छिटोभन्दा छिटो अस्पतालको प्रमुख पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई दिनहुँ जसो आग्रह गर्ने गरिएको पनि अस्पताल विकास समितिले जनाएको छ । मन्त्री पौडेलले छिटो पठाउने आश्वासन दिंदै आए पनि हालसम्म प्रमुख नपठाउँदा समस्या बढ्दै गएको जनाइएको छ । पश्चिम नेपालको एक मात्र क्यान्सर अस्पताल खजुरास्थित सुशिल कोइराला क्यान्सर अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या दिनदिनै बढ्दै गएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतवार १५:०१

लोकप्रिय