सूचनाको शक्ति - The Power Of Information

        

भारतद्वारा पाकिस्तानसँगको मुख्य सीमा बन्द, सिन्धु सन्धी निलम्बन

कश्मीरमा आक्रमणपछि भारतले पाकिस्तानसँगको मुख्य सीमा नाका बन्द गरेको छ । कश्मीरको पर्यटकीयस्थलमा बन्दुकधारीहरूले दुई दर्जनभन्दा बढी सर्वसाधरणलाई मारेको एक दिनपछि भारतले पाकिस्तानलाई लक्षित गर्दै यो कदम उठाएको बीबीसीले जनाएको छ ।

यस अन्तर्गत दुई देशलाई जोड्ने मुख्य सीमा नाका बन्द गर्ने, ऐतिहासिक जलवितरण सन्धि निलम्बन गर्ने, पाकिस्तानी कुटनीतिक कर्मचारीहरूलाई निष्कासन गर्ने र केही पाकिस्तानी भिसा भएकाहरूलाई ४८ घण्टाभित्र देश छोड्न आदेश दिने लगायत कदम समावेश रहेको समाचारमा उल्लेख छ ।

पाकिस्तानी अधिकारीहरूले आक्रमणमा देशको संलग्नतालाई अस्वीकार गरेको छ । साथै भारतको सो कदमविरुद्ध बिहीबार आफ्नो प्रतिकारात्मक कदम चाल्ने बताएको पाकिस्तानी विदेशमन्त्रीले जानकारी दिएका छन् । भारत सरकारले यस घटनाप्रति रोष व्यक्त गर्दै पाकिस्तानलाई परोक्षरूपमा जिम्मेवार ठहर्याएको छ ।

भारतले लामो समयदेखि पाकिस्तान सरकारलाई यस क्षेत्रमा सशस्त्र समूहहरूलाई सहयोग गर्ने आरोप लगाउँदै आएको छ भने उक्त आरोपलाई पाकिस्तानले पूर्णरूपमा खण्डन गर्दै आएको छ । भारतले सन् १९६० देखि लागु भएको इन्डस वाटर ट्रिटी (सिन्धु नदी सन्धी) निलम्बन गर्ने पनि घोषणा गरेको छ ।

यस सन्धीले सिन्धु नदी र यसका सहायक नदीहरूमध्ये पूर्वी नदीहरूको नियन्त्रण भारतलाई र पश्चिमी नदीहरू पाकिस्तानलाई दिएको छ । सम्झौताले भारतलाई केही अपवादबाहेक पश्चिमी नदीहरूको पानी पाकिस्तानतर्फ बग्न दिन अनिवार्य गर्छ । भारतीय सुरक्षा एजेन्सीहरूका अनुसार कश्मीरको आक्रमणमा ‘कश्मीर प्रतिरोध’ नामको समूह गठन गरेको बताएको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार ०९:११

लोकप्रिय