सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालिएको हो ।
विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौँ (वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू), लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् । यस अवसरमा आज बिहान राजधानीमा सम्पदा पदयात्रा गर्न लागिएको पुरातत्त्व विभागले जनाएको छ ।
विभाग, काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रम, हनुमानढोका दरबार हेरचाह अंडा श्री स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमिति, नेपाल सम्पदा संघ तथा बागमती प्रदेश हस्तकला संघको आयोजनामा पदयात्रा गर्न लागिएको विभागका प्रमुख पुरातत्त्व अधिकृत सन्दीप खनालले जानकारी दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थितिमा हुने पदयात्रामा संस्कृतिकर्मी एवं सांस्कृतिक संस्थाको पनि सहभागिता रहने जनाइएको छ । स्वयम्भूको भुइँखेलबाट सुरु हुने पदयात्रा हनुमानढोका दरबार क्षेत्रमा आएर समापन हुने उनले सुनाए ।
सम्पदास्थल नजिकै पूर्वाधार निर्माणका काम गर्दा सम्पदा प्रभाव मूल्यांकन गर्नुपर्ने भएको छ । यसअघि ठूला आयोजना निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने व्यवस्था थियो । सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा भने सम्पदा प्रभाव मूल्यांकन गर्नुपर्ने व्यवस्था गरिएको हो ।
पूर्वाधार निर्माणले सम्पदास्थलमा क्षति पुग्न थालेपछि सरकारले यस्तो व्यवस्था गरेको हो । पुरातत्त्व विभागले दुई वर्षअघि सम्पदा प्रभाव मूल्यांकन कार्यविधि बनाएको महानिर्देशक सौभाग्य प्रधानाङ्गले जानकारी दिए ।
सम्पदा प्रभाव मूल्यांकनका लागि नेपालमा सरकारीस्तरबाट दिइएको यो पहिलो तालिम गत वर्ष दिइएको विभागले जनाएको छ । यसरी तालिम लिएका जनशक्तिबाट नै सम्पदा प्रभाव मूल्यांकन सुरु भएको उनले बताए । विभागले प्राचीन स्मारक संरक्षण ऐन, २०१३ मा गर्न लागेको संशोधनमा पनि सम्पदा प्रभाव मूल्यांकनको विषय पारेको छ ।
ऐन संशोधन गर्न समय लाग्ने भएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री स्तरीय निर्णयबाट दुई वर्षअघि कार्यविधि स्वीकृत गराएर सम्पदा संरक्षणका लागि सम्पदा प्रभाव मूल्यांकन सुरु गरिएको हो । कार्यविधिले गरेको व्यवस्था अनुसार सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा सम्पदा प्रभाव मूल्यांकनको प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं