सूचनाको शक्ति - The Power Of Information

        

२२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

आगामी शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदैछ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी शनिबार र आइतबार भिटामिन ‘ए’ खुवाउँदैछ ।

स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई खुवाइनेछ । सोही दिन एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । बालबालिकालाई बालभिटा खुवाइनेछ ।

सोही दिन बालबालिकामा कुपोषणको परीक्षण पनि गरिनेछ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने छ । सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारको लागि २०५० सालमा आठ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि देशभरि नै लागू गरिएको हो ।

जुका नियन्त्रण तथा रोकथामको लागि २०५६ सालदेखि १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागू गरिएको छ । यस्तै, २०६४ सालदेखि बालभिटा खुवाइने गरेको छ । प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, बिहीबार ११:५०

लोकप्रिय