सूचनाको शक्ति - The Power Of Information

        

संस्कृति र परम्परा

नुवाकोटको सिन्दूरे जात्रा

देवी जात्राको यस अवसरमा धेरैले देवीघाटमा आफ्ना छोरीहरुको इही (बेलविवाह) गर्ने प्रचलन रहेकोमा हाल हराउँदै गएको पाइन्छ ।

नया“ वषको आगमनसँगै नुवाकोट समाजलाई सिन्दूरे जात्राले स्वागत गरिसकेको छ । यी पर्वहरु हाम्रो परम्परा, संस्कृति र सामूहिक उत्साहको प्रतीक हुन् । पर्वहरुले धार्मिक आस्थालाई बलियो मात्र होइन, समुदायलाई एकताको सूत्रमा बाँध्ने काम पनि गर्दछन् । परम्परा संरक्षण गर्दै धार्मिक तथा सांस्कृतिक सम्पदालाई जोगाउने काम गर्दछन् । नेपालभर मनाइने विभिन्न जात्राहरु मध्ये नुवाकोटको सिन्दूरे जात्रा पनि एक हो । यसले यस वर्ष नया“ वर्षको उल्लासलाई झन् विशेष बनाउने नै छ । जात्राहरु वास्तवमा नेपाली समाजको मौलिक पहिचान हुन् ।

अब लागौं सिन्दूरे जात्रातर्फ

संघीय राजधानी काठमाण्डौं उपत्यकाजस्तै विभिन्न जात्रा नै जात्राको गाउँ भन्दा पनि फरक नपर्ला । जात्रा तथा पर्वहरुमा रमाइ रहने नुवाकोट यतिवेला भने सिन्दूरे जात्राको उल्लासमा छ । लिच्छविकालदेखि नै विविध जाति मिलेर रहेको यो नुवाकोट नमूनाको रुपमा रहेको पाइन्छ । श्री ५ पृथ्वीनारायण शाहले ‘चार जात छत्तीस वर्णको फूलबारी’ यहाँ पनि चरितार्थ भएको छ । किनभने उहाँ एकल जाति छैन, विविध जातिहरुको बसोबास रहेको छ । प्रत्येक वर्ष बैशाख कृष्ण प्रतिपदा (द्वितीया)का दिन धरमपानीबाट निकालिएको रथारोहण गराई दरवार परिसरको तलेजु (तुलजा) भवानी मन्दिरसम्म सिन्दूरे यात्रा धुमधाम साथ मनाइन्छ ।

नुवाकोटका धामी, द्वारे तथा बुढापाकाहरुको भनाइ अनुसार यो जात्रा राजा शिवसिद्धिको पालादेखि चल्दै आएको मानिन्छ । तर वंशावलीमा यस राजाको नामको कुनै अभिलेख भेटिएको छैन भन्ने पनि छ । यो जात्रामा जुन तान्त्रिकको प्रभाव अनुरुप लिच्छवीकाल या मध्यकाल अघिदेखि नै चलेको भन्ने अनुमान पनि गरिन्छ । तर नुवाकोट साततले दरवार परिसरको नारायणस्थानस्थित पानसमा नेपाल संवत् ५६१ को अभिलेख अनुसार यो जात्रा निकै अघिदेखि चल्दै आएको स्वतःसिद्ध छ ।

देवी जात्रा हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि शुरु हुन्छ । परम्परागत रुपमा धामीले डमरु बजाएर घरघरमा अक्षता उठाउने कार्य गरी जात्रा आरम्भ गरिन्थ्यो । तर अहिले प्रचलनमा नरहेको द्वारे महेन्द्र कुमार शाही बताउछन् । पहिले स्थानीयबाट उठाइएको अक्षताबाट जा“ड बनाएर जात्रामा उपयोग गरिन्थ्यो । सिन्दूरे जात्राको मुख्य आकर्षण भैरव र अष्टमातृकाका मूर्ति ‐विराजमान) सजाइएको रथ यात्रा, जीवित भगवानको रुपमा पुजिने धामीधमिनी र लिङ्गो गाड्ने नै हो । हेर्दा सामान्य काठको लिङ्गो देखिए पनि यसलाई देवत्वकरण गर्न विधिवत पूजा अर्थात् प्राणप्रतिष्ठा गर्ने विधि अपनाइन्छ ।

पूरै महिना दिनको जात्रा

देवी भैरवीको सिन्दूरे जात्रा नुवाकोटवासीको ठूलो पर्व हो । देवी जात्रा अर्थात सिन्दूरे यात्रालाई प्रत्येक बर्ष परम्परागत रुपमा सञ्चालन गर्नका लागि धामी (भैरवी मन्दिरका पुजारी) धमिनीका साथै द्घारे (सरकारका प्रतिनिधि), कुमार, गणेश, तथा गुठियारहरुको व्यवस्था हँुदै आएको छ । देवी जात्रा कहिले देखि चल्दै आएको हो भन्ने एकिन गर्न सकिएको छैन । यो जात्रा फागु पूर्णिमादेखि शुरु भएर महिना दिनसम्म चलिरहन्छ । फागु पूर्णिमाका दिनदेखि जात्राको तयारी गरिन्छ । र, यस दिनदेखि पुजारीहरुले जहाँ पायो त्यहाँ खाँदैनन् ।

यो जात्रा चलिरहँदा नारायण जात्रा (१६ गते) पनि धुमधामका साथ मनान्छ । यो जात्रा घोडे जात्राको दिन र त्यसको भोलिपल्ट गरेर दुई दिन चल्ले गर्छ । यसलाई मिनी सिन्दूरे जात्रा पनि भनिन्छ । अघिल्लो दिन नारायण देवता बेसी जाने र भोलिपल्ट नारायण देवता बेसीबाट फर्कन्छन् । चैत्र शुक्ल चतुर्दशी (२९ गते) का दिन बेलु्का कुमारीको हातबाट तिन पटक चादीको करुवाबाट धामीको स्नान कार्यसँगै जात्रा मुख्य बिधिबाट सुरु हुन्छ । यो स्नान विधि रोचक देखिन्छ । सगुन लिएर बन्दुक पड्केको विशेष साइतमा आफ्नो निवास अगाडी मण्डपमा उभिन्छन् । घरको ढोकामा चिराग बालिएको हुन्छ भने २ निशान पनि ठड्याइएको हेन्छ ।

बज्राचार्यको निर्देशानुसार धामीस्नान कार्य गरेपछि नाउका परिवारले धामीलाई पूजा गर्ने चलन रहिआएको छ । सो विधि पश्चात पोशाक पहिराइन्छ । सुनौला मुकुट, गहना, बाला, चाँदीको पेटी, डमरु पात्र, भोटो र जामा आदी भेषभूषामा धामी निकै भब्य र आकर्षक देखिन्छन् । त्यसपछि धामी आफ्नो निवासमा सगुन लिएर बाहिर निस्की दौडेर शहरटोलस्थित द्घारेको घरमा पुग्छन् । धामी दौडेको दृश्य रमाइलो र केही डर लाग्दो देखिन्छ । तान्त्रिक बिधिद्घारा बज्राचार्यले क्षेत्रपाल (द्घारपाल) मा मन्त्रोचारण गर्ने र तदनुसार गुठियारद्घारा धामीलाई पुजा गर्ने गरिन्छ । र, बज्राचार्यद्घारा धामीधमिनीमा भैरवभैरवी चढाउने बिधि गरिन्छ ।

यसप्रकार धामीधमिनीमा देवीको रुप धारण भइसकेपछि काँप्न थाल्दछन् । भैरवलाई चढाइएको महाबलीको जाँड पिउन धामी निकै डर लाग्दोसँग झम्टन्छन् । यसपछि मन्त्रोन्चारणका साथ बज्राचार्यले धामीलाई (अजः) गाजल लगाइदिन्छन् । प्रसाद स्वरुप भक्तजनहरुलाई पनि लगाउने गरिन्छ । जुन अजः ग्रहण गर्दा भूतप्रेतको डर नहुने विश्वास गरिन्छ । महाबलीको कार्य सम्पन्न भइसकेपछि बाजागाजाको साथमा यात्रा बुढी देवता स्थान (भैरवीको माइती) तिर पुगी लिङ्गो उठाउने कार्य प्रारम्भ हुन्छ । यो जात्राको लागि सालिन्दा एक नयाँ काट्ने चलन छ । लिङ्गो ४२ हातको हुनुपर्छ । बुढी भैरवी (देवी भैरवीको आमा) र भैरवी मन्दिरको पछाडि एक–एक वटा लिङ्गो गाड्ने गरिन्छ ।

लिङ्गो गाड्ने ठाउँ स्थायी छ, जुन लिङ्गोको लम्बाइ अनुसार त्यति गहिरो छैन । पहिले लिङ्गो गाड्ने काम स्थानीय ब्यक्तिहरुबाट हुन्थ्यो । केही बर्षदेखि नेपालि सेनाद्घारा गाड्ने गरिएको छ । सामान्य बुद्घि लगाएर लिङ्गो गाड्न सकिँदैन । लिङ्गो गाड्ने बेलामा धामी खाल्टोसँगै भैरवीको रुप धारण गरी आसन जमाएर बसिरहनु पर्दछ । यो अवधि धामीको लागि कष्टकर हुन्छ । यो विधि पूरा नहुन्जेल जस्तोसुकै दैवी प्रकोप आइपरे पनि धामीले आफ्नो आसन छाड्न नहुने मानिन्छ । यो कार्य अलि कठिन हुन्छ । तर भैरवीको शक्तिका कारण केही नहुने विश्वास गरिन्छ । लिङ्गो उभ्याएपछि आलम झुण्ड्याइन्छ ।

त्यसपछि धामीले बाजागाजाको साथमा देशवन्दना यात्रा गर्दै मैदानटोल, नया“बजार, इन्द्रचोक, शहरटोल हुदै देवीस्थान टोल भैरवी मन्दिरको पूर्वपट्टि अर्को लिङ्गो उठाउने विधि सम्पन्न गरेर उत्सव सकिन्छ । यो लिङ्गोहरु वैशाख कृष्ण नवमी (बैशाख २०) र दशमी (बैशाख २१) का दिन क्रमशः ढालिन्छ । लिङ्गो गाड्ने कार्य सम्पन्न पश्चात भैरवीमाईको मुकुट सहित अष्टमातृकाका मूर्तिहरु रथमा विराजमान गराइन्छ । चैत शुक्ल पूर्णिमाको दिन (चैत्र ३० गते) विहान धामीलाई गणेशको घरमा भोज खुवाइन्छ । त्यसपछि द्घारेद्घारा धमिनीलाई साततले दरवारको बैठक कक्षमा बस्त्र प्रदान गरिन्छ ।

हाल साततले दरवार भूकम्पले क्षती पुगेर टेकोको भरमा अड्याएर राखिएकोले त्यस दरवार बाहिर प्रदान गरिने गरिएको छ । धामी, कुमार, गणेश र अन्य खलकीहरुलाई पगरी (फेटा) दिइन्छ । जात्रा सकिएपछि गणेशलाई प्रदान गरिएको पगरी फिर्ता लिइन्छ । धमिनीको कपालमा सिन्दूर राखिन्छ । सरकारको तर्फबाट भामिधमिनीलाई सगुन प्रदान गरिन्छ । सो विधि पश्चात धामीधमिनी आफ्नो निवासतर्फ लाग्छन् । केही बेरपछि विशेष बाजागाजा साथ धामीधमिनी र गणहरुलाई तलेजु मन्दिरतर्फ लगिन्छ । तलेजु भवानी भूकम्पले तहसनहस बनाए पछि र बर्खाको पानीले ढलेको छ , यसले गर्दा बाहिर कटेज बनाएर राखिएको छ । त्यहाँ बज्राचार्यद्घारा आवश्यक पूजाआजा गर्ने कार्य सकिएपछि यो जात्रा भैरवी मन्दिरदेखि दक्षिण–पश्चिमपट्टि सूर्यमती र गण्डकीको संगमस्थल देवीघाट (जालपा मन्दिर) तर्फ प्रस्थान गर्दछन् ।

खटमा भैरवभैरवी र अष्टमातृकाका मूर्तिहरु राखिएको हुन्छ । त्यो खटलाई लच्याङ्गका तामाङ्गहरुले (३६ नले भन्ने गरिन्छ ।) बोक्छन् । यो यात्रा धरमपानी, बट्टार, माझीटार र ठूलो बगैँचा हुँदै देवीघाटमा पु¥याइन्छ । भैरबीको बिर्तामा बसेको कुमालहरुले बाराही मन्दिरदेखि चिउरीको बोटसम्म बास लाय् (वस्त्र बिछ्याएर) धामीधमिनी, गणेश र कुमारको भव्य पूजाआजा तथा रथ बोक्ने कार्य गर्दछन् । देवीघाटमा बज्राचार्यद्घारा विशेष अनुष्ठान गरी राति धामीलाई राँगा, बोकाको भोग दिइन्छ । अन्त्यमा माछाको भोग दिइन्छ । जुन माछा भोग खुवाउने केही समय अघि जाल थाप्ने गरिन्छ ।

सो विधि सकिएपछि देवता चढेका धामीबाट आउँदो सालको भविष्यवाणी हुन्छ । यो भविष्यवाणी सुन्ने अवसर गुभाजु, द्वारे, बाह्रभाइ खलक आदिलाई मात्र प्राप्त हुन्छ । उल्लेखनीय वाणीलाई पहिले राजदरवारमा द्वारे (महेन्द्रकुमार शाही)मार्फत पुर्याइन्थ्यो भने हाल राष्ट्र प्रमुख समक्ष पुर्याउने गरिन्छ । बुढापाकाका भनाइ अनुसार श्री ५ राजेन्द्र विक्रम शाह आफै देवीघाट पुगेर धामीले गरेको भविष्यवाणी सुनेको भन्ने पाइन्छ । देवी जात्राको यस अवसरमा धेरैले देवीघाटमा आफ्ना छोरीहरुको इही (बेलविवाह) गर्ने प्रचलन रहेकोमा हाल हराउँदै गएको पाइन्छ । जसका लागि कुनै साइत जुराउनु नपर्ने जनविश्वास रहिआएको छ ।

देवीघाटको मेला सकिएपछि धामीधमिनी लगायत अन्य गणहरु बाजागाजा साथ रमाइलो यात्रा गर्दै नुवाकोट डाँडा तर्फ लाग्छन् । माझीटार, बट्टार हँुदै नुवाकोटको धरमपानीमा पुगेपछि धामीधमिनीको सरकारी पूजा गरिन्छ र भोज खुवाइन्छ । भोलिपल्ट (बैशाख १ गते) धरमपानीमा जिल्लाका सरकारी कार्यालय प्रमुखहरुको उपस्थितिमा सम्मानार्थमा नेपाली सेनाले दुई सलामी (निशान झण्डा र भैरवी सलामी) बढाईँ दिइन्छ । त्यस्तै साततले दरवार अगाडि र तलेजु भवानीमा पनि सलामी बढाईँ गरिन्छ । जात्रा अवधीभर नेपाल प्रहरीको पनि बिशेष सहयोग रहन्छ । बढाईँ सकिएपछि रथ उठाएर धामीधमिनीको यात्राका साथ सैनिकहरुको संलग्नतामा बन्दुकको आवाजमा बाजागाजा सहित धुमधामसँग यात्रा गर्दै धरमपानीबाट तलेजु भवानीको मन्दिरतर्फ लागिन्छ ।

यो यात्रा देवी भैरवी मन्दिरको दक्षिणतर्फ रहेको महिषासुर (दुर्गा) मन्दिरको अगाडि बजा्रचार्यले बिशेष पूजाआजा गरेपछि विजय उत्सवको रुपमा धमिनीलाई सिन्दूर हालिन्छ र, यसले सिन्दूरे जात्राको रुप लिन्छ । किंवदन्ती अनुसार जालपा देवी (भैरवीको दिदी) आएको अवसरमा सिन्दूरे जात्रा गरी हर्ष बढाई गरिएको मानिन्छ । बिशेष बाजामा नाच्दै रमाउदै चिराग लिएर नाइके तथा कटुवालको अनुमतिमा रथ उचालेपछि यात्रा तुलजा भवानी तर्फ लम्कन्छ । तलेजुकोे कार्यक्रम सकिएपछि त्यो समूह पुनः भैरवी स्थानतर्फ फर्कन्छ । रथलाई भैरवी मन्दिरको पछाडि डबलीमा राखेपछि धामीधमिनी आफ्नो निवासमा भित्रिन्छन् ।

भोलिपल्ट अर्थात् (२ गते) बिहान झिसमिसे हुँदा भैरवी मन्दिरको पछाडि राखिएको अष्टमातृकाको खट अगाडी डबलीमा धामीलाई सरकारी वकिलतर्फबाट २ वटा राँगाको विशेष भोग ख्वाइने गरिन्छ । यस अवसरमा बढाईँ गरिन्छ । देवताको रुप धारण गरेका धामीले राँगा, बोकाका रगत पिउँछन् । रगत पिउन धामी डरलाग्दो गरी झम्टन्छन् । बैशाख कृष्ण अष्टमीका दिन बाहिर खटमा रहेका देवीदेवताका मूर्तिहरुलाई मन्दिरमा पुनस्र्थापन गरिन्छ । बाह्रभाइ खलकीद्घारा मन्दिरमा क्षमा पूजा समापन भएपछि देवी जात्रा समाप्त हुन्छ । यसपछि पनि स–साना जात्रा भइरहन्छन् । देवी जात्रा तान्त्रिक विधिद्घारा मनुष्यमा दैवीशक्ति धारण गर्ने काम सफल भएको खुशियालीमा उत्सवको रुपमा मनाइने परम्परा छ ।

अन्त्यमा, ढुङ्गा, धातु तथा काष्ठका मूर्तिहरुमा त देवताको न्यास गरी देवता चढाउन सकिन्छ भने प्रत्यक्ष देखिने मानवमा देवता चढाउन सकिदैन भन्ने तात्कालिन सिद्धहरुको एक नविन प्रयोगलाई यस सिन्दूरे जात्राले झस्काइरहेको पाइन्छ । यस्ता पर्वहरुमा रहेको मूल दर्शनको ज्ञान आजकल निकै कमलाई मात्र छ । यस पर्वको बारेमा जानकारी गराउनको लागि भए पनि नगरपालिकाले सवै जनसमुदायलाई उपस्थित गराउनु पर्ने देखिन्छ । । यस तर्फ स्थानीय सरकार तथा जनप्रतिनिधिहरुले चासो दिनु जरुरी छ । यस नया“ वर्षमा हाम्रो संस्कृति झनै समृद्ध होस्, समाजमा शान्ति, समृद्धि र एकता कायम रहोस् भन्ने कामना !!

प्रकाशित मिति : १ बैशाख २०८२, आइतवार १३:५८

लोकप्रिय