सूचनाको शक्ति - The Power Of Information

        

छ वर्षपछि नेपालगन्ज रंगशालामा खेलकुदको रौनक

लामो समयपछि नेपालगन्जमा आयोजना भएको अन्तरराष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले रंगशालामा रौनक थपिएको छ । बाँकेमा आठौँ राष्ट्रिय खेलकुद पछि करिब छ वर्षसम्म ठूलो प्रतियोगिता आयोजना हुन नसक्दा अलपत्र अवस्थामा रहेको करोडौँको भौतिक संरचनासहितको नेपालगन्ज रङ्गशालामा लुम्बिनी कप फुटबलले खेलकुदको रौनक ल्याएको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।

‘लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलका लागि रङ्गशालालाई चिटिक्क पारिएको छ, आठौँ राष्ट्रिय खेलकुदपछि ठूलो प्रतियोगिता नेपालगन्ज रङ्गशालामा भएकाले स्थानीय खेलाडी तथा फुटबलप्रेमीमा खुसी छाएको छ,’ अध्यक्ष शाहीले भने, ‘नियमित रूपमा ठूला खेलकुद प्रतियोगिता हुनसके नेपालगन्ज रङ्गशालाको रौनक अझै बढ्दै जानेछ ।’

अन्तरराष्ट्रियस्तरको प्रतियोगिता भएकाले लुम्बिनी कप महिला फुटबललाई लक्षित गरी केही महिनादेखि नै रङ्गशालाको सजावट थालिएको थियो । नियमित पानी राख्दा दुबो पलाएर यतिबेला रङ्गशालामा हरियाली छाएको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको आयोजक अन्तरालाका प्रमुख कार्यकारी जयनारायण शाहले बताए ।

सरसफाइ र मर्मतमा उचित बजेट नहुँदा जीर्ण बन्दै गएको यो रङ्गशालामा नियमित अभ्यास हुन सकेको थिएन । आठौँ राष्ट्रिय खेलकुदपछि पहिलो पटक लुम्बिनी कप महिला फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएपछि रङ्गशालामा चहलपहल बढेको छ । आठौँ राष्ट्रिय खेलकुदका बेला रोपिएको रु ४० लाखको बर्मुडा दुबोको नामोनिसान मेटिए पनि दैनिक स्याहार गर्दा स्थानीय दुबो पलाएर अहिले नेपालगन्ज रङ्गशाला आकर्षक देखिएको छ ।

अन्तरालको आयोजना तथा जिल्ला फुटबल संघ बाँकेको सहकार्यमा नेपालगञ्ज रङ्गशालामा शुक्रबार सुरु भई वैशाख १२ गतेसम्म चल्ने ‘लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल’ प्रतियोगितामा आठवटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता समूहले रु पाँच लाख पाँच हजार ५५५ र उपविजेता समूहले रु दुई लाख ५० हजार, ट्रफी, मेडल प्राप्त गर्ने आयोजक अन्तरालका प्रमुख कार्यकारी शाहले जानकारी दिए ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार १८:५४

लोकप्रिय