सूचनाको शक्ति - The Power Of Information

        

सावित्रीको लोभलाग्दो च्याउखेती

पर्वतको जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छिन् । कृषि पेसाबाट गाउँमै केही गर्न सकिन्छ भनेर विगत ११ वर्षदेखि व्यावसायिक कृषिखेतीमा सक्रिय खत्रीले च्याउ र तरकारीखेतीबाट बर्सेनि १२ लाख रूपैयाँभन्दा बढी आम्दानी गर्न थालेकी छिन् ।

चारवटा गुम्बज टनेलमा कन्ये र गोब्रे च्याउखेती उत्पादन गरी छिमेकी जिल्ला बागलुङ, म्याग्दी र पर्वतको कुश्मा बजारमा खपत गर्ने गरेको अगुवा कृषक खत्रीको भनाइ छ । यस वर्ष च्याउबाट मात्रै सात लाख रूपैयाँभन्दा बढी आम्दानी भएको उनले बताइन् । ‘च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छु, उत्पादित च्याउको बिक्रीका लागि कुनै समस्या छैन,’ कृषक खत्रीले भनिन् ।

गोब्रे च्याउको प्रतिकिलो ५०० र कन्येलाई २०० रूपैयाँमा बिक्री गर्ने गरेका उनले गोब्रे च्याउबाट यसवर्ष पाँच लाख र कन्ये च्याउबाट दुई लाख रूपैयाँ आम्दानी भएको बताइन् । कच्चा पदार्थसहितका साम्रगीसमेत तयार गर्ने गरेकी कृषक खत्रीले सात रोपनी जमिनमा उत्पादन हुने अन्य तरकारीबाट पाँच लाख रूपैयाँको बिक्री गर्छिन् । च्याउबाहेक मौसम अनुसार काँक्रो, घिरौँला, बोडी, सिमी, करेला, भन्टा, खुर्सानी, धनियाँ, गाजर लगायतका तरकारी उत्पादन गर्दै आएको बताइन् ।

तीनवटै जिल्लाका सदरमुकाम नजिकै रहेको र कालीगण्डकी करिडोरअन्तर्गत मालढुंगा–बेनी सडक नजिकै रहेकाले उत्पादित च्याउ र तरकारी बजारीकरणमा समस्या नरहेको उनले बताइन् । खत्रीले यस वर्ष उच्च प्रविधिको टनेल थपेर बाह्रै महिना च्याउखेती गर्न थालेकी छिन् । उनले वातानुकूलित टनेलमा जाडो तथा गर्मी दुवै याममा च्याउ उत्पादन हुने बताइन् । अब च्याउखेतीबाट निरन्तर आम्दानी हुने उनको भनाइ छ ।

सामाजिक एवं राजनीतिक रुपमा सक्रिय रहेकी खत्रीले राम्रो उत्पादन दिने र श्रमिक पनि कम लाग्ने हुँदा च्याउखेतीलाई विस्तार गर्दै गएकी छिन् । वैदेशिक रोजगारीबाट फर्किएका श्रीमान् भीमबहादुर केसीले च्याउ र अन्य तरकारीखेतीको उत्पादन तथा बजारीकरणमा सघाइरहेका छन् । अहिले दम्पतीका अलावा समय–समयमा ज्यालादारी मजदुर खोजेर तरकारीखेती गर्ने गरेको उनको भनाइ छ ।

खेती गर्नलाई धेरै ठूलो ठाउँ, समय पनि नचाहिने र बेच्नलाई सजिलो भएकाले यसप्रति श्रीमानले विदेश नगई सघाउन थालेको खत्रीले बताइन् । मेहनत गर्ने हो श्रीमान्ले विदेशमा कमाउने पैसा दुवै मिलेर यहीँ दुःख गरी कमाउन सकिने खत्रीको अनुभव छ । खत्रीले च्याउखेतीबाट भएको कमाईले छोरीलाई उच्च शिक्षाका लागि विदेश पठाउन सफल भएकी छिन् भने छोरालाई समेत निजी विद्यालयमा पढाएकी छिन ।

यसका अलावा बैंकमा बचत गर्न सफल भएको उनले बताइन् । मेहनत र परिश्रम गर्ने हो भने पैसा कमाउन विदेश जान पर्दो रहेनछ भन्ने आफ्नो अनुभवले देखाएको उनले बताइन् । पछिल्लो समय गाउँपालिकामा व्यावसायिक रुपमा लाग्ने कृषकको आकर्षण बढेको रहेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । ‘गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेको छ, अबका दिनमा च्याउखेतीमा अनुदान समेत बढाउँछौँ,’ आचार्यले भने ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार ०७:५४

लोकप्रिय