नेपालमा राजनीतिक ब्यवस्था गणतन्त्रको स्थापना, स्थायित्व र संस्थागत बिकासका लागि हजारौं नागरिकले बलिदान दिए । किसानले आफ्नो हलो छोडे, मजदुरले आफ्नो काम छोडे, विद्यार्थीले कलम छोडे, हजारौं नारीले आफ्नो ममताको कुर्वान दिए अनि हजारौं जनताले सडकमा उत्रिएर संघर्ष गरे । गणतन्त्र ल्याउने नाममा कैयौँ सहिद भए, कैयौं घाइते अङ्गभङ्ग भए, कति जेल परे, अनि कति परिवार टुहुरा भए ।
देशले मानवीय, भौतिक र आर्थिक क्षति व्यहोर्न पुग्यो । अन्ततः शासन व्यवस्था फेरियो, नाम बदलियो, पद फेरिए, नेता र नेताहरूका नजिककाहरू सत्तामा पुगे तर जनताको अवस्था फेरिएन । गणतन्त्र आउँदा सपना देखाइएको थियोः अब जनताको शासन हुनेछ, समान अवसर हुनेछ, शिक्षा, स्वास्थ्य, रोजगारी सहज हुनेछ, भ्रष्टाचार अन्त्य हुनेछ, देश आत्मनिर्भर बन्नेछ । तर, वास्तविकता के देखियो ?
परिवर्तन केवल नेताका लागि भयो । जनता जहाँको त्यहीँ रहे, तर नेताहरूको जीवनशैली फेरियो । उनीहरूको रहनसहन, घर–जग्गा, बैंक खाता, सवारी साधन, विलासिताका वस्तुहरू बढ्दै गए । जसले आन्दोलनका लागि नारा लगाए, संघर्ष गरे, आगो बलिदिए, उनीहरू सडकमा नै छोडिए । सत्ता नेताहरूको आयो, पार्टीका आसेपासेहरू मोटाए, तर जनताको अवस्था जस्ताको तस्तै रह्यो ।
गणतन्त्रले नेताहरूका लागि हजारौं कुर्सी, गाडी, महँगा कार्यालय, विदेश भ्रमण, सुविधासम्पन्न घरहरू थप्यो । तडकभडक बढ्यो, सत्ता फेरिँदै गयो, तर शासन गर्ने शैली उही रह्यो । जनताको जीवनस्तर उकासिने आश्वासन मात्र रह्यो । शिक्षा जस्ताको तस्तै, बेरोजगारी झन् उकालो, स्वास्थ्य सेवा पहुँच बाहिर, गरिबी उस्तै ।
जनताले तिरेको कर नेताहरूको सुख–सुविधामा मात्र खर्च हुँदै गयो । विदेशी ऋणको भार बढ्दै गयो, बेरुजु रकम अर्बौँमा पुग्यो, भ्रष्टाचार मौलायो । राजनीति अपराधीकरणको दलदलमा फस्योः तस्कर, माफिया, दलाल, भ्रष्ट अधिकारीहरूसँग नेताहरूको गठबन्धन गहिरिँदै गयो । एकातिर जनता महँगी, अभाव, बेरोजगारीले थिचिए, अर्कोतिर नेताहरूको जीवनशैली राजासरह भव्य बन्यो ।
नेताहरू फेरि जनतालाई उचाल्न खोज्दै छन् । ‘गणतन्त्र संकटमा छ’ भन्ने नारा लगाएर जनता सडकमा उतार्न खोज्दै छन् । तर, के अब जनता उनीहरूको झूटमा पर्न तयार छन् ? जब जब सत्ता गुम्ने डर हुन्छ, नेताहरू जनतालाई आह्वान गर्छन् । तर, अब जनता बुझिसके, गणतन्त्र संकटमा परेको होइन, नेताहरूको लुटतन्त्र संकटमा परेको हो ।
कसले कमजोर बनायो गणतन्त्रलाई ? कसले बदनाम गरायो ? यही नेताहरूले । पञ्चायतमा पनि यी नै थिए, बहुदलमा पनि यी नै, जनयुद्धमा पनि यी नै, गणतन्त्रमा पनि यी नै । व्यवस्था जेसुकै आए पनि, सत्तामा भने उही भ्रष्ट प्रवृत्तिका नेताहरू रहिरहे । अब जनता बुझिसके, फेरि कुनै नेताका लागि लाठी, गोली, अश्रुग्यास खान आवश्यक छैन ।
अब प्रश्न उठ्छः के गणतन्त्र केवल नेताहरूको सत्ता लुट्ने माध्यम मात्र हो ? कि यसलाई जनताको शासन बनाउने कुनै उपाय छ ? परिवर्तन सम्भव छ, तर त्यसका लागि पुरानै नेताहरूबाट आशा गर्ने समय सकिएको छ । जबसम्म जनता सचेत हुँदैनन्, जबसम्म सही नेतृत्व चयन हुँदैन, तबसम्म गणतन्त्रको नाममा लुटतन्त्र नै चलिरहनेछ ।
अब परिवर्तन केवल नाराले सम्भव छैन । जनता आफैं जागरूक हुनुपर्छ, नेताहरूको झूट चिन्नुपर्छ, सही विकल्प खोज्नुपर्छ । किनकि, गणतन्त्रलाई नेताहरूले संकटमा पारेका छन, जनताले होइन । अब जनताले नै यसको रक्षा गर्ने कि फेरि नेताहरूको झूटको पछि लाग्ने, निर्णय उनीहरूकै हातमा छ
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
भुमबहादुर भण्डारी । युवा नेता एवं समाजसेवी