रेबिज एक प्राणघातक रोग हो । यो रोग ९५ प्रतिशत रोगी कुकुरको टोकाइबाट हुन्छ । रोगको लक्षण देखिएपछि खोपले पनि काम गर्दैन र शतप्रतिशत मृत्यु हुन्छ । तर समयमा खोप लगाएमा बच्न सकिने चिकित्सक बताउँछन् । सकेसम्म कुकुरको टोकाइबाट जोगिनु नै यो रोगबाट जोगिनु उपाय रहेको सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन बताउँछन् ।
रेबिज कसरी सर्छ ?
रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो । रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरमा रेबिज भाइरस हुन्छ । कुकुर, स्याल, चमेरो, बिरालो लगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गरेको उनी बताउँछन् । त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ ।
रेबिज लागेको कुकुरलाई कसरी चिन्ने ?
- अत्यधिक र्याल काढ्ने,
- जे पायो त्यही टोक्ने,
- उत्तेजित हुने,
- थकित भएर बस्ने,
- आवाज परिवर्तन हुने,
- पछाडिको भाग पक्षाघात हुँदै जाने
रोकथाम गर्न के गर्ने ?
- कुकुर बिरालोलाई वार्षिक रूपमा खोप लगाउने,
- जंगली जनावरहरूको नजिक नजाने, नजिस्क्याउने, नचलाउने,
- घरमा पालिएका कुकुरहरुलाई छाडा नछोड्ने,
- जंगली जनावरले टोकेमा खोप लगाउन तुरुन्तै लगाउन जाने, यो खोप सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ ।
स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८१ चैत २१ गते बिहीबार