सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका युवक रोल्पाको जंगलमा मृत फेला

बाँकेका एक युवक रोल्पामा मृत फेला परेका छन् । नेपालगन्ज घर भई रोल्पास्थित मामाघर गएका २३ वर्षीय उमेश बुढामगर रोल्पाको जंगलमा मृत फेला परेका हुन् ।

रोल्पा प्रहरीका अनुसार मगर रोल्पा नगरपालिका–९ हानवाङस्थित सालघारी सामुदायिक वनमा सोमबार मृत फेला परेका हुन् । मगर करिब १२ दिनअघि मामाघर गएका थिए । उनी रोल्पामा मावली हजुरआमासँग बस्दै आएका थिए । मगरलाई चैत १ गते दिउँसो रोल्पाको सदरमुकाम लिवाङ बजारको मेलामा स्थानीयले देखेको बताएका छन् ।

त्यसपछि उनी सम्पर्कविहीन थिए । उनको शव सोमबार माडीचौरबाट हाङबाङ जाने गोरेटो बाटोको २०० मिटरमुनि घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मगरको मृत्यु भिरबाट लडेर भएको हुन सक्ने प्रहरीको आशंका छ । मृतक मगरकी श्रीमती भारतमा मजदुरीका लागि गएको खुलेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलवार १६:३६

लोकप्रिय