सूचनाको शक्ति - The Power Of Information

        

गण्डकीमा वर्षा र हिमपात, दुईवटा प्रदेशमा हावाहुरीको सम्भावना

देशका केही भूभागका आज वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

बिहान कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । अन्य प्रदेशमा भने आज मौसम आंशिक बदली रहे पनि मुख्यतया सफा रहने मौसमविद् विनु महर्जनले जानकारी दिइन् । कोसी र मधेस प्रदेशका केही स्थानमा आज हावाहुरीको सम्भावना रहेको छ ।

अपराह्नपछि यी दुई प्रदेशमा हावाहुरीको सम्भावना रहेको हो । काठमाडौंमा आज वर्षाको सम्भावना रहेको उनले बताइन् । ‘काठमाडौं उपत्यकामा आज वर्षाको सम्भावना छैन । वायुमण्डलको माथिल्लो भागमा बादल हुनेछ,’ उनले भनिन्, ‘अहिले बिहान पनि काठमाडौंमा हाइक्लाउड देखिएको छ । दिउँसो पनि हुनेछ । तर, यसले वर्षा गराउँदैन ।’

हावाहुरीको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने विभागको भनाइ छ । यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलवार ०७:०२

लोकप्रिय