प्रि–मनसुन सुरु भएसँगै चट्याङ पर्न पनि सुरु भएको छ । प्रि–मनसुनमा मुख्यतः अपराह्नपछि स्थानीय वायु सक्रिय भएर नयाँ प्रणाली विकास हुँदा चट्याङ पर्ने गरेको छ । चट्याङबाट जनधनको क्षति भएका विवरणहरू आउन थालेका छन् ।
त्यसैले यसबाट सचेत रहँदै जोगिन सरकारले आग्रह गर्दै आएको छ । चट्याङ के हो र यसबाट कसरी बच्ने भन्नेबारे जानकारी लिएर सचेत हुने भने धेरै हदसम्म यसबाट बच्न र अरुलाई बचाउन सकिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
चट्याङ एक प्रकारको विद्युतीय प्रवाह हो । आकासमा विपरीत दिशाका बादलहरू तीव्र गतिमा जुधेपछि ठूलो आवाजका साथ करेन्ट उत्पन्न हुन्छ । त्यसबाट आगोको मुस्लोजस्तो झिल्को निस्किन्छ ।
त्यसलाई बिजुली चम्किएको भन्ने गरिएको प्राधिकरणले जनाएको छ । चट्याङ पर्दा अत्यन्तै धेरै करेन्ट उत्पन्न हुन्छ । त्यस्तो करेन्टको मात्र कहिले काहीँ आकाशबाट जमिनतिर केन्द्रित भई प्रभावित हुने बेला यसको सम्सर्गमा आउने कुरामा क्षति पुर्याउने गरेको प्राधिकरणको भनाइ छ ।
अर्थिङले बिजुली चम्किँदा निस्किएको करेन्ट र घरको करेन्टलाई जोडिन दिँदैन । त्यसैले दक्ष प्राविधिकको सहयोगमा तामा, आल्मुनियम तथा जीआईका रड घरको सबैभन्दा अग्लो भागमा राख्नुपर्छ । सोही धातु र पाता जोडेर जमिनसम्म पुर्याएर तामाको रडसँग जोडेर अर्थिङ गर्नुपर्छ । ‘घर तथा भवनहरू बनाउँदा अग्ला रुख, टावर र बिजुलीको लाइनबाट सकेसम्म टाढा बनाउनुपर्छ । घरमा जडान गरिएका विद्युतीय सामग्री बेलाबेलामा सुरक्षित छन् वा छैनन् भनेर जाँच गर्नुपर्छ,’ प्राधिकरणले भनेको छ ।
चट्याङ परेको समय घरबाहिर हुँदा चट्याङले अग्ला रुख, बिजुलीका तार, पोल, पोखरी र नदीमा सजिलै समात्नसक्ने भएकाले त्यसको नजिक जानुहुँदैन । धातुको गेट, पर्खाल, पोलनजिक नबस्न पनि प्राधिकरणले भनेको छ । खुला ठाउँमा गएर शरीरलाई सानो बनाएर टुक्रुक्क भुईंमा कुरकुच्चा जोडेर बसी दुबै हातले कान थुन्नुपर्छ ।
‘बिजुली चम्किएको समयमा खुला तथा पानी परेको स्थानमा बस्नुहुँदैन । सकेसम्म घरमा बस्नुपर्छ । विद्युतीय उपकरण प्लगबाट छुटाउनुपर्छ,’ प्राधिकरण भन्छ, ‘नदी तथा खोला तर्नु हुँदैन । पौडी खेल्नुहुँदैन । पानीको धारामा सिधै नुहाउनुहुँदैन । विद्युतीय उपकरण प्रयोग गर्नु हुँदैन ।’ सकेसम्म चट्याङ परेका बेला घरभित्रै झ्यालढोका बन्द गरेर बस्नुपर्छ भने धातुका रेलिङ छुन नहुने प्राधिकरणले जनाएको छ ।
चट्याङले असर गरेमा तुरुन्तै प्राथमिक उपचारपछि अस्पताल लैजानुपर्छ । चट्याङ सामान्यतया आराह्न ३ बजेपछि पर्ने हुनाले घरबाहिरको काम दिउँसै सकेर ३ बजेपछि घरमै बस्नुपर्छ । क्षतिको मूल्यांकन र पुनःस्थापनको काम गर्दा अपांगता भएका व्यक्ति, गर्भवती, बालबालिका, जेष्ठ नागरिक एकल महिला, महिला र असक्त व्यक्तिलाई प्राथमिकता दिन प्राधिकरणले आग्रह गरेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं