रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्परा अनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो ।
आज बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, रूपन्देही, कपिलवस्तु, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चितवन, सर्लाही, रौतहट, उदयपुर, धनुषा, महोत्तरी, सुनसरी, सप्तरी, सिराहा, मोरङ, झापा, लगायत जिल्लामा होली मनाइँदैछ ।
थारू तथा मधेसी समुदायको बाक्लो बसोबास रहेको बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङमा होली पर्वलाई विशेष महत्त्वका साथ मनाउने गरिएको छ । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरंगले तरंगित तुल्याउने होली उल्लास र रंगीचंगीको पर्वका रूपमा लिने गरिन्छ ।
सबैलाई एउटै रङमा रंग्याउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको पण्डित बुद्धिसागर भण्डारीले बताए । ‘असत्यमाथि सत्यको, छलमाथि निश्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ,’ उनले भने, ‘धार्मिक महत्वसँगसँगै सामाजिक सद्भाव र उमङ्ग प्रदान गर्न होलीको विशेष भूमिका रहेको छ ।’
प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको भण्डारीले बताए । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रूपमा फागु पर्व मनाउने चलन छ ।
हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल निस्केको प्रसंग पुराणहरूमा उल्लेख छ । शक्तिको दुरुपयोग गर्ने होलिका मारिएको भन्दै होलिकादहन अर्थात् चीरदाह गरेर आपसमा रंग, अबीर लगाएर खुसीयाली मनाएर होली खेल्ने परम्पराको सुरुवात भएको मानिन्छ ।
रसरंग, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रंग्याउने, ढोल, डम्फु, मृदंग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ । होलीलाई आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने पर्वको रुपमा मनाउने परम्परा छ ।
विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ । प्रहरी प्रशासनले होली पर्वको नाममा उश्रृङ्खल क्रियाकलाप नगर्न, जथाभाबि रंग र अबिर नदल्न सबैलाई सचेत गराएका छन् । अन्यथा कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।
केही वर्षदेखि रंगको पर्व होली सभ्य बन्दै गएको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रंग र लोला हान्ने क्रम बन्द भएको छ । प्रहरीले होलीलाई सभ्य तरिकाले मनाउन आग्रह गरेको छ । होहल्ला नगरी, जाँडरक्सी तथा लागूपदार्थ नखाई एक आपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध छ ।
यस्तै होली मनाउँदा आफ्नो स्वास्थ्य, सम्भावित दुर्घटना र सामाजिक मर्यादाबारे पनि ख्याल गर्न विज्ञहरूले सुझाव दिएका छन् । रंगले कतिपयको छाला, फोक्सो तथा आँखामा एलर्जी गर्ने भएकाले यसतर्फ सचेत हुन डाक्टरको सुझाव छ । पहाडी जिल्लामा होलीको बिहीबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं