मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउनेलाई अहिलेभन्दा थप २० गुणा बढी जरिवाना हुने गरी कानुनको मस्यौदा तयार गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाएको सवारी तथा यातायात व्यवस्था ऐन, २०८१ को मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो । मस्यौदामा अर्थ मन्त्रालयले सहमति जनाइसकेको छ ।
अहिले मस्यौदा सहमतिका लागि कानुन मन्त्रालयमा पुगेको र कानुनले सहमति दिनेबित्तिकै मन्त्रिपरिषद्मा लैजाने तयारी भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव शंकरसिंह धामीले बताए । मस्यौदामा सवारी नियम उल्लंघन गरी सवारीसाधन चलाउनेलाई गरिने जरिवाना विद्यमान ऐनमा तोकिएभन्दा धेरै बढी हुने व्यवस्था गर्न प्रस्ताव गरिएको मन्त्रालयको यातायात व्यवस्था शाखाका प्रमुखसमेत रहेका धामीले जानकारी दिए ।
यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ मा मापसे गरी सवारीसाधन चलाएमा पहिलो पटक ५००, दोस्रो पटक एक हजार र तेस्रो पटक एक हजार ५०० सजाय जरिवाना हुने व्यवस्था छ । तर नयाँ बनाउन लागिएको कानुनको मस्यौदामा मापसे वा नसालु पदार्थ सेवन गरी सवारीसाधन चलाउनेलाई सिधै १० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।
यसैगरी निषेधित क्षेत्रमा हर्न बजाएमा ५०० रुपैयाँ जरिवाना हुने प्रस्ताव गरिएको छ । मस्यौदामा सडक अनुशासन उल्लंघन गर्ने पैदल यात्रुलाईसमेत जरिवानाको व्यवस्था गरिएको छ । त्यस्ता पैदल यात्रुलाई ५०० रुपैयाँसम्म जरिवानाको प्रस्ताव गरिएको छ । तोकिएका कागजातबिना सवारीसाधन चलाएमा एक हजार, मोबाइल फोनमा कुराकानी गर्दै सवारीसाधन चलाएमा एक हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ ।
सवारीसाधनबाट सडकमा फोहोर फाल्ने यात्रु÷चालक÷सहचालकलाई एक हजार रूपैयाँ, चोरीको सवारीसाधन चलाएमा पचास हजार रुपैयाँ, सवारीचालक, परिचालक, सहचालक, यात्रु, पैदलयात्री तथा अन्य व्यक्तिलाई अशिष्ट अपमानजनक व्यवहार गर्नेलाई एक हजार रुपैयाँसम्म जरिवानाको प्रस्ताव मस्यौदामा राखिएको छ । यस्तो जरिवाना तोक्ने अधिकार यातायात निरीक्षक तथा प्रहरीलाई दिइएको छ ।
धूमपान सेवन गर्दै सवारीसाधन चलाएमा एक हजार रूपैयाँ जरिवाना तोक्ने अधिकार प्रहरीलाई दिइएको छ । हेल्मेट र सिट बेल्टको प्रयोग नगरेमा एक हजार, अनधिकृत व्यक्तिले ट्राफिक संकेत राख्ने, झिक्ने, फेरबदल वा नष्ट गरेमा त्यस्तालाई पाँच हजारदेखि बीस हजार रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था मस्यौदामा प्रस्ताव गरिएको छ ।
मस्यौदामा ढोका खुला राखी सवारीसाधन चलाएमा तथा अवस्था ठिक नभएको सवारीसाधन चलाएमा त्यस्ता चालकलाई पाँच सय रूपैयाँदेखि एक हजार रूपैयाँसम्म जरिवाना तोक्न प्रस्ताव गरिएको छ । त्यस्तै मस्यौदामा तोकिएको भन्दा बढी गतिमा सवारीसाधन चलाएमा पाँच हजार रूपैयाँ तथा अरूलाई हानि पुग्ने गरी सवारी चलाएमा पच्चीस हजार रूपैयाँ जरिवाना गर्न प्रस्ताव गरिएको छ ।
जथाभावी ओभरटेक गरेमा दुई हजार रूपैयाँ, सार्वजनिक सवारीसाधनमा भाडादरको सूची नराखेमा एक हजार रूपैयाँ, लेन अनुशासन पालना नगरी सवारी चलाएमा वा संकेत नदिई लेन परिवर्तन गरेमा एक हजार रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था मस्यौदामा प्रस्ताव गरिएको छ । फुटपाथमा सवारी चलाउनेलाई पनि जरिवानाको व्यवस्था गरिएको छ । त्यस्ता सवारीचालकलाई एक हजार रूपैयाँसम्म जरिवाना हुने छ ।
यसैगरी मस्यौदामा सवारीसाधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट राख्न प्रस्ताव गरिएको छ । इम्बोस्ड नम्बर प्लेटको आकार र रङ भने सवारीसाधनको अवस्था हेरेर फरकफरक राखिएको छ । ‘यो ऐन लागु हुनुअघि सम्पूर्ण सवारीसाधनमा इम्बोस्ड नम्बर जडान नगरिँदासम्म साधारण नम्बर प्लेटले मान्यता पाउने छ,’ मस्यौदामा लेखिएको छ ।
सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सवारी शिक्षासम्बन्धी विषयलाई सम्बन्धित निकायले विद्यालयस्तरीय पाठ्यपुस्तकमै समावेश गर्नुपर्ने प्रस्ताव मस्यौदामा गरिएको छ । यसैगरी मन्त्रालय, विभाग तथा यातायात सम्बद्ध निकायहरूले आवश्यकता अनुसार यातायात सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न वा गराउन सक्ने कुरा पनि मस्यौदामा राखिएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं