२०८३ साउन ३० , शनिबार 15, August 2026, Saturday

ट्रम्पसँग चर्काचर्कीपछि जेलेन्स्कीले भने, ‘विवाद राम्रो होइन तर सम्बन्ध बचाउन सकिन्छ’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ फागुन १७ गते शनिबार

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको विवाद ‘राम्रो नभएको’ तर दुई देशबीचको सम्बन्धलाई बचाउन सकिने बताएका छन् । महत्त्वपूर्ण खनिज सम्झौताका लागि अमेरिका भ्रमणका रहेका बेला अमेरिकी राष्ट्रपति ट्रम्पसँग मतभेद भएपछि जेलेन्स्कीले यो प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।

ह्वाइट हाउसमा रहेको ओभल अफिसमा ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भेन्ससँग जेलेन्स्कीको चर्काचर्की भएको हो । ट्रम्पले रुससँग लडाइँ गरेर युक्रेनले जित्न नसक्ने बताएका थिए । जेलेन्स्कीले भने आफूले युद्धविराम चाहेको उल्लेख गरेका थिए । भेटका क्रममा ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्धका लागि जुवा खेलेको आरोप लगाउँदै युक्रेनले रुससँग शान्ति सम्झौता गर्नुपर्ने नत्र कुरा अगाडि नबढ्ने बताएका थिए ।

तर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुनै सम्झौता नहुने बताएपछि दुई नेताबीच चर्काचर्की परेको थियो । ह्वाइटहाउसमा भएको भेटमा समकक्षी ट्रम्पसँग तिक्तता बढेपछि जेलेन्स्की बाहिर निस्किएका बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले आफूमाथि अपमानजनक व्यवहार गरेको जेलन्स्कीले आरोप लगाएका छन् ।

ट्रम्पलाई युक्रेनको खनिज उद्योगमा अमेरिकी सहभागिताको सम्झौतामाथि हस्ताक्षर हुने विश्वास थियो । तर अमेरिकाले रुसलाई समर्थन गरेकोबारे असन्तुष्टि जनाउँदै जेलेन्स्कीले ट्रम्पका विभिन्न प्रस्तावलाई अस्वीकार गरेको खबरमा उल्लेख छ । भेटवार्ताका क्रममा असाधारण वातावरण बनेपछि जेलेन्स्की ह्वाइट हाउस छोडेर निस्किएपछि दुवै राष्ट्रपतिले गर्ने भनिएको संयुक्त पत्रकार सम्मेलन रद्द भएको छ ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत शान्ति स्थापनाका लागि तयार भए जेलेन्स्की फिर्ता आउन सक्ने प्रतिक्रिया दिएका छन् । यसैबीच बेलायतका प्रधानमन्त्री सर केयर स्टार्रले ट्रम्प र जेलेन्स्की दुवैसँग कुरा गरेको र युक्रेनका लागि अटल समर्थन कायम राखेको खबरमा उल्लेख छ ।

प्रकाशित मिति : २०८१ फागुन १७ गते शनिबार