प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अवकाशको केही दिनअघि नै बिदा बस्ने मनस्थितिमा पुगेका छन् । भावी आइजीपीलाई सहज हुनेगरी केही दिनअघि बिदा बस्ने मनस्थितिमा पुगेको स्रोतको दाबी छ । नेपाली सेनामा अवकाशको एक महिनाअघि बिदा बस्ने प्रचलन भए पनि नेपाल प्रहरीमा भने यस्तो प्रचलन छैन ।
प्रहरी ऐन संसद्मा छलफल हुन बाँकी रहेको अवस्थामा प्रहरी महानिरीक्षक (आइजिपी) कुँवरले आफ्नो कार्यकाल नबढ्ने निश्चित भएपछि एक महिना अघि बिदा बस्ने तयारी गरेका थिए । तर गृहमन्त्री रमेश लेखकले नै अहिले नबस्नु अर्को आइजीपी तय भएपछि मात्रै बस्नु भनेपछि फागुन अन्तिममा उनी बिदा बस्ने तयारीमा रहेका छन् ।
आइजीपी बसन्तबहादुर कुँवर ‘ब्याच नम्बर १०८’का को प्राय सबै टोली बिदा भैसकेको अवस्थामा उनी पनि समय अघि नै बिदा बस्ने तयारी छन् । उनी चैत ५ गने ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि नै उनी बिदा बस्न खोजेका थिए । ‘नयाँ आइजीपीको हुन्छ भन्नुपर्ने अवस्थाको सिर्जना नगरी बिदा बसेपछि आउनेलाई काम गर्न सहज हुन्छ,’ आइजीपी सचिवालयका एक अधिकृतले भने ।
यसपछि आइजीपीको लाइनमा दीपक थापा, टेकबहादुर तामाङ र सुदीप गिरी रहेका छन् । आइजीपीमा थापाको नै पल्लाभारी रहेको प्रहरी प्रधानकार्यालय स्रोतले जनाएको छ । आइजीपीका व्याची टेकप्रसाद राई दूर्गा सिंह चन्द, कुवेर कडायत, बुद्धिराज गुरुङमात्रै बाँकी छन् । राई पनि केही दिनमै बिदा हुँदैछन् भने आइजीपी कुँवरसँगै कडायत, चन्द र गुरुङ बिदा हुनेछन् । प्रहरीमा १०८ को टोली भाग्यमानी ब्याच बन्न पुगेको छ ।
यस ब्याचबाट १५ जना अधिकृत विशिष्ट श्रेणीमा पुगेका छन् । आइजीपी कुँवरसहितको यो ब्याचका पछिल्लो समय २३ जना सेवामा थिए । जसमध्ये १५ जना विशिष्ट श्रेणीमा पदोन्नति भए । कुँवर आइपी भए भने अन्य १४ जना एआइजीसम्म भए । सात जना डिआइजी तथा एक जना मात्र एसएसपीबाट अवकाश पाएका छन् । पोषराज पोखरेल मात्रै एआइजी सिफारिस भएर पनि विशिष्ट श्रेणीमा उक्लिन पाएनन् ।
विशिष्ट श्रेणीमा पुग्नेमा आइजिपी कुँवरसहित एआइजीहरू टेकप्रसाद राई, सन्दीप भण्डारी, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, उमेशराज जोशी, मीरा चौधरी, रामदत्त जोशी, बुद्धिराज गुरुङ, किरण राणा, भरतबहादुर बोहरा, केदार ढकाल, दुर्गा सिंह, कुबेर कडायत र रवीन्द्र केसी छन् । केसीले पनि केही दिनअघि राजीनामा बुझाएका छन् । उनले जनक भट्टराईलाई एआइजी बनाउने बाटो खोल्नेगरी राजीनामा दिएका हुन् ।
प्रहरीमा एआइजीका ८ मात्र दरबन्दी छन् । तर, एआइजीको ५६ वर्षे उमेरहदका कारण छिटो–छिटो अवकाश हुँदा एउटै ब्याचका धेरै जनाले विशिष्ट श्रेणीमा अवसर पाएका हुन् । कतिपयलाई छानीछानी अवकाशको मुखमा एआइजीको फुली लगाइयो भने शक्ति नहुनेलाई पद खाली हुँदा पनि डिआइजीमै अवकाश दिइयो । यही ब्याचबाट आठ जना डिआजीसम्म पुगे ।
अशोक सिंह, विकासराज खनाल, भोला रावल, पोषराज पोखरेल, अर्जुन चन्द ठकुरी, गणेश चन्द, धुव्रराज राउत र जनक भट्टराई डिआइजीसम्म पुगे । उनीहरुमध्ये भोला, गणेश, धुव्रराज र जनक पदमै छन् । भोला भने आइजीपीको सम्धी पनि बन्दैछन् । जनकलाई केही दिनमा एआइजी सिफारिस गर्ने तयारी रहेको छ । अशोक सिंह जन्ममितिको विवादपछि अस्वाभाविक रुपमा बर्हिगमनमा परे । पोषराजको एआइजीमा सिफारिस हुँदा पनि निर्णय भएन ।
रवि लामिछाने गृहमन्त्री हुँदा उनको एआइजी बढुवामा सिफारिस भएको थियो । त्यही बीचमा सरकार ढलेपछि मन्त्रिपरिषद्ले उनको निर्णय गरेन । विकासराज र अर्जुन चन्दले उमेरका आधारमा नियमित अवकाश पाए । यो ब्याचबाट एसएसपीमै अवकाश पाउने डिल्लीराज बिष्ट एक्ला हुन् । निर्मला पन्त प्रकरणमा मुछिएकाले उनी माथिल्लो पदमा पुग्न सकेनन् । निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा उनी नै कञ्चनपुरको प्रहरी प्रमुख थिए ।
अनुसन्धानमा लापरबाही भएको भन्दै पछि उनलाई नै मुद्दा चलाइएकोमा पछि सफाई पाएका थिए । उनीहरु सबै २०५१ सालमा भर्ना भएका हुन् । त्यसबेला एक सय पदमा इन्सपेक्टरको भर्ना लिइएको थियो । पहिलो लटमा ६० जनालाई लिइएको थियो । त्यही बीचमा सरकार फेरिएर केपी ओली गृहमन्त्री भएपछि पछिल्लो लटको भर्ना उनले रोकेका थिए । ६० बाट पनि उनले ८ जनाको नियुक्ति रोकेर उनीहरुलाई वैकल्पिकमा राखेका थिए ।
जसमा हालका एआइजीहरु दीपक, टेकबहादुर र सुदीप हुन् । अबको चैतपछि उनीहरुमध्येबाट आइजीपीमा चयन हुँदैछ । नियुक्ति दिइएकामध्ये पनि गणेश चन्द र भगवानसिंह विष्टलाई विशेष प्रहरीमा पठाइएको थियो । उनै चन्द हाल सुदूरपश्चिम प्रदेशको प्रमुख छन् भने विष्ट पहिले नै जागिर छाडेर अमेरिका गए । पछि २०५२ को कात्तिक २७ मा थप ४० जनालाई नियुक्त गरिएको थियो । जसमा चन्द्रकुबेर खापुङ, लालमणी आचार्य, कृष्णहरि शर्मा पोखरेल लगायत छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं