सूचनाको शक्ति - The Power Of Information

        

आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात ?

देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र कोसी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

आज बिहानीपखबाट भित्रिएको पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज वर्षा हुन लागेको मौसमविद् रोजन लामिछाने बताउँछन् । उनका अनुसार यो प्रणाली कमजोर रहेका कारण ठूलो वर्षा भने हुने छैन । भोलिबाट नै केही कमजोर हुनेछ । ‘भोलि केही प्रदेशका पहाडी भूभागमा मात्र वर्षा हुनेछ,’ उनले भने ।

उनका अनुसार काठमाडौंमा आज बादल लाग्ने र केही चिसो हुनेछ । ‘रातको समयमा भने केही छिटपुट वर्षाको पनि सम्भावना छ,’ मौसमविद् लामिछाने भने, ‘तर, काठमाडौंका सबै ठाउँमा वर्षा हुने होइन । केही ठाउँमा मात्र हुने सम्भावना छ ।’ काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस रहेको छ ।

दिउँसो १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान छ । हिजो बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस मापन गरिएको थियो । बिहानी तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाको भनाइ छ । हाल नेपालमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार ०६:५८

लोकप्रिय