पश्चिम नेपालको प्रमुख नाका मानिने जमुनाहबाट भारतको उत्तर प्रदेशको प्रयागराजमा सञ्चालन भइरहेको हिन्दु धर्मावलम्बीको महाकुम्भ मेलामा ठुलो सङ्ख्यामा तिर्थयात्रु जाने गरेका छन् । पुस २९ गतेबाट सुरु भएर फागुन १४ सम्म (महाशिवरात्रिका दिनसम्म) सञ्चालन हुने सो मेलामा जमुनाह नाकाबाट मात्रै दैनिक पाँच हजारसम्म हिन्दु धर्मावलम्बी स्नानका लागि जाने गरेको पाइएको छ ।
गङ्गा, यमुना र सरस्वती नदीको सङ्गममा स्नान गर्नाले पापको प्रायश्चित भई पुण्य प्राप्ति हुने र मृत्युपछि मोक्ष हुने धार्मिक मान्यता रहेका कारण नेपालबाट पनि दैनिक ठुलो सङ्ख्यामा श्रद्धालु प्रयागराज जाने गरेको पाइएको इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ । जमुनाह नाका हुँदै दैनिक तीनदेखि पाँच हजारभन्दा बढी नेपाली हिन्दु धर्मावलम्बी महाकुम्भमा जाने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले बताए ।
उनले सोही कारणले केही दिनयता नाकामा ठुलो भीडभाड बढेकोले सुरक्षाका लागि प्रहरीले सीमा क्षेत्रमा थप व्यवस्था मिलाएको बताए । जमुनाहबाट ३८५ किलोमिटर दुरीमा रहेको प्रयागराजमा महाकुम्भ मेलाका लागि मात्र रुपैडियाबाट दैनिक १० भन्दा बढी यात्रुबहाक गाडी सञ्चालन रहेको र ती सबै गाडीमा जाने श्रद्धालुमा नेपाली बढी हुने गरेको प्रहरी निरीक्षक बुढाथोकीले बताए ।
उनका अनुसार रुपैडियास्थित डिपोबाट दैनिक बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म प्रयागराजका लागि गाडी सञ्चालन भइरहेका छन् । यसैगरी नेपालगन्ज र रुपैडियाबाट रिजर्भ गाडी पनि ठुलो सङ्ख्यामा दैनिक गइरहेका छन् । १४४ वर्षपछि लाग्ने यो महाकुम्भ आफ्नो जीवनकालमा लागेकाले यस्तो महत्त्वपूर्ण अवसर सदुपयोग गर्न महाकुम्भ मेला पुगेर स्नान गरेर आएको नेपालगन्ज ८ का अरुणा श्रेष्ठले बताए ।
उनले महाकुम्भमा धेरै नेपाली भेटिएको जनाउँदै देशभरबाटै नेपालीहरू त्यहाँ गएको बताए । सार्वजनिक गाडीमा जाँदा भाडा सस्तो हुँदा पश्चिम नेपालका हजारौं हिन्दु धर्मावलम्बी गाडीमा गइरहेको आफूले देखेको श्रेष्ठले बताए । महाकुम्भमा पुगेर फर्किएर आएका अधिकांश नेपालीले मेलामा भीड अत्यधिक भएको हुँदा त्यहाँ जाँदा सचेत हुन श्रद्धालुलाई अनुरोध गरेका छन् । महाकुम्भबाट फर्किएका नेपालगन्ज ११ का दिपक वैश्यले नेपालीका लागि नेपाल सरकारले पनि त्यहाँ सहजीकरण गर्ने व्यवस्था गरेको भए राम्रो हुने सुझाव दिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके