बाँकेका किसानहरू पछिल्लो समय हिउँदे मकै खेतीतर्फ आकर्षित हुन थालेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी अनिश श्रेष्ठका अनुसार यस वर्ष बाँकेमा ९५ हेक्टर क्षेत्रफलमा हिउँदे मकै खेती गरिएको छ ।
सूचना अधिकारी श्रेष्ठका अनुसार अघिल्लो वर्षको तुलनामा २३ हेक्टर बढी क्षेत्रफलमा हिउँदे मकै खेती गरिएको छ । गत वर्ष ७२ हेक्टरमा मात्र हिउँदे मकै खेती गरिएको थियो, जसबाट २३७ मेट्रिक टन उत्पादन भएको थियो । उनले गत वर्ष मकै उत्पादन प्रतिहेक्टर ३ दशमलव २९ मेट्रिक टन रहेको जनाए ।
यस वर्ष भने क्रप कटिङ नभएकोले उत्पादनको यकिन तथ्यांक निकाल्न नसकिएको उनले बताए । हिउँदे मकै खेतीलाई अझ प्रविधिमैत्री बनाएमा किसानहरूको आम्दानी थप वृद्धि गर्न सकिने जनाउँदै कृषि ज्ञान केन्द्र बाँकेले किसानहरूले उचित समयमा सिँचाइ, मलखाद व्यवस्थापन तथा कीट नियन्त्रण गरेमा उत्पादन अझ राम्रो हुने जनाएको छ ।
हरियो मकैको माग बढ्नु र उचित मूल्य प्राप्त भइरहेको तथा यसबाट राम्रो आम्दानी हुन थालेपछि बाँकेका किसानहरू व्यावसायिक रूपमा मकै खेतीतर्फ आकर्षित हुन थालेका हुन् । जिल्लामा सबैभन्दा बढी राप्तीसोनारी, डुडुवा गाउँपालिका तथा बैजनाथ गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिका–२३मा हिउँदे मकै खेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी श्रेष्ठका अनुसार विशेष गरी डुडुवा गाउँपालिका–६ हिरमिनिया, भंघोटना, कालाबञ्जर, पहाडियन पुरवा, बकौली, अहिरापुर, महन्तरपुरवा, बल्दीपुरवा लगायतका गाउँहरूमा किसानहरूले व्यापकरूपमा हिउँदे मकै खेती गरिरहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका–२३ भज्जुपुरवाका कृषक जयपाल मौर्यका अनुसार हरियो मकैको बजार मूल्य राम्रो पाईएको र सहजै बिक्री हुने भएकाले बाँकेका किसानहरू व्यावसायिक रूपमा हिउँदे मकै खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।
स्थानीय अर्का कृषक रामबहादुर यादवका अनुसार, बाँकेमा हिउँदे मकै लगाउनेहरु बढ्दै गएका छन् । यादवले थपे, ‘हिउँदे मकै राम्ररी उत्पादन गर्न सके, बजारमा हरियो मकैको राम्रो मूल्य पाइन्छ। फागुन–चैतमा बिक्री गर्दा हामीले प्रतिकिलो राम्रो मूल्य पाउने गरेकोले किसानहरूलाई हौँसाएको छ ।’
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके