सूचनाको शक्ति - The Power Of Information

        

निर्दोष बालबालिका पनि कारागारमा

जिल्ला कारागार बागलुङमा आमासँग बालबालिका बस्न बाध्य भएका छन् । बागलुङको महिला कैदीबन्दीका दुई बालबालिका पनि कारागारमा छन् । चार वर्षीय बालक कारागारमा बसेको १० महिना भयो भने दुई महिनाकी बालिका पनि थपिएकी छिन् ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लक्ष्मीसेन सुनार सहकारी ठगी मुद्दामा २०८० माघ १२ गते काठमाडौँमा पक्राउ परेकी थिइन् । सुनारलाई जिल्ला अदालतले माघ १५ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

सुनार जिल्ला कारागार चलान भएको दुई महिनापछि उनका चार वर्षीय छोरा पनि कारागार पुगेका थिए । छोराको स्याहारसुसार र संरक्षण गर्ने मान्छे नभएपछि सुनारले पछिल्लो १० महिनादेखि छोरालाई आफूसँगै कारागारमा राख्दै आएका छन् ।

कर्तव्य ज्यान कसुरमा आमा तनसरा विक पुस ९ गते पुर्पक्षका लागि कारागार चलान भएपछि उनीसँगै उनकी दुई वर्षीया छोरी कारागारमा बस्दै आएकी छिन् । सुनार र तनसरा दुवैको मुद्दा कहिले फैसला हुन्छ टुङ्गो छैन ।

पाँच वर्षभन्दा कम उमेरका बालबालिका आमा थुनामा रहेको समयमा घरमा हेरचाह र संरक्षण गर्ने व्यक्ति नभएपछि आमासँगै राख्न पाउने व्यवस्था अनुसार उनीहरुलाई कारागारमै राखिएको जिल्ला कारागारका प्रशासक धीरेन्द्र पन्तले बताए ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार ०७:५३

लोकप्रिय