सूचनाको शक्ति - The Power Of Information

        

१४ वर्षपछि समातिए फरार प्रतिवादी

जिल्ला अदालत बाँकेले जन्मकैद सजाय तोकेका एक जना फरार प्रतिवादीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले १४ वर्षपछि पक्राउ गरेको छ । अदालतले सजाय तोके पनि १४ वर्ष ६ महिनादेखि फरार रहेका साबिक महादेवपुरी–५ तथा हालको राप्तिसोनारी गाउँपालिका वडा नम्बर ९ बस्ने ३० वर्षीय धनबहादुर थारूलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी थारूलाई १४ वर्ष ६ महिनापछि पक्राउ गर्न सफलता मिलेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । थारूलाई बाँके जिल्ला अदालतको २०७३ पुस १८ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्मकैद सजाय तोकेको थियो। उनी १४ वर्ष ६ महिनासम्म फरार रहेका थिए ।

पछिल्लो समयमा आएर जिल्ला प्रहरी कार्यालय बाँकेले फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियान नै सञ्चालन गरेको छ । सोही कारणले गत पुसको महिनामा मात्र जिल्ला प्रहरी कार्यालय बाँकेले ६५ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको थियो । अझै पनि धेरै जना फरार रहेकाले उनीहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीले बताए ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलवार १७:१०

लोकप्रिय