सूचनाको शक्ति - The Power Of Information

        

ट्रम्पको निर्णय, ‘डब्ल्यूएचओबाट अमेरिका अलग’

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथलगत्तै आफ्नो देशलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट अलग गर्ने आदेश जारी गरेका छन् । बीबीसीका अनुसार उक्त आदेशमा हस्ताक्षर गर्दा ट्रम्पले भने, ‘ओहो, यो ठूलो निर्णय हो ।’ अन्य देशका तुलनामा अमेरिकाले यसका लागि अनुचित मूल्य चुकाएको ट्रम्पको दाबी छ ।

ट्रम्पले डब्ल्यूएचओलाई संकेत गर्दै भने, ‘उनीहरू हामीलाई फर्काउन चाहन्छन्, त्यसैले के हुन्छ हेरौँ ।’ उनको यो भनाइलाई केही समयपछि अमेरिका डब्ल्यूएचओमा फर्कने संकेत मानिएको छ । अमेरिकाको राष्ट्रपतिमा दोस्रोपटक निर्वाचित ट्रम्पले सोमबार पदको शपथ खानासाथ विभिन्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

राष्ट्रपतिको पदभार ग्रहण गरेपछि ट्रम्पले ६ जनवरी २०२१ मा क्यापिटल हिलमा भएको दंगामा संलग्न झन्डै १५०० जनालाई माफी दिने आदेश पनि जारी गरिसकेका छन् । यस्तै उनले टिकटक सम्बन्धी कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेका छन् । शपथपछिको सम्बोधनमा ट्रम्पले अमेरिकामा अब स्वर्ण युग सुरु भएको दाबी गरे ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलवार १०:५८

लोकप्रिय