सूचनाको शक्ति - The Power Of Information

        

बालबालिकालाई हिटर कति सुरक्षित ?

जाडो महिनामा सहरी क्षेत्रमा हिटर धेरै प्रयोग हुन्छ । न्यानोका लागि रुम हिटर निकै प्रभावकारी तथा सजिलो उपाय मानिन्छ । तर, स्वास्थ्यका हिसाबले यसका केही बेफाइदा पनि छन् । ग्यास हिटर होस् या इलेक्ट्रिक, दुवै हिटरका बेफाइदा छन् । विशेषगरी हिटरले हावामा भएको आद्रता शोषित गर्दछ र कोठामा सुक्खापन बढाउँछ ।

सुख्खापनका कारण नाकको मार्ग सुक्न सक्छ । यसले रक्तस्राव पनि गराउँदछ भने सुख्खापनकै कारण छालाको एलर्जी हुने, छालामा चायाँ पर्ने जस्ता समस्या निम्तिन सक्छन् । ग्यास हिटरबाट उत्पादन हुने कार्वनडाइअक्साइड, कार्बन मनोअक्साइडजस्ता ग्यासको सम्पर्कमा लामो समय बस्दा शरीरलाई स्लो पोइजनको रूपमा असर गर्न सक्छन् ।

पर्याप्त मात्रामा हावा आसपास नहुने कोठामा ग्यास हिटर बाल्दा यसबाट निस्कने कार्बन मनोअक्साइडले श्वासप्रश्वासमा समस्या निम्त्याउन सक्छ । विभिन्न अंगमा अक्सिजनको कमी गराउन सक्छ भने रगतमा हेमोग्लोबिनको मात्रा कम गराउन सक्छ । यो ग्यासको कुनै गन्ध, रंग नहुने र आँखाले देख्न नसकिने भएकाले पनि यसलाई स्लो पोइजनको रुपमा लिइन्छ ।

इलेक्ट्रिक ग्यास हिटरले पनि कोठाको आद्रतालाई घटाउने भएकाले स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्छ । यद्यपि, विकार पदार्थ उत्पादन कम हुने भएकाले यो ग्यास हिटरभन्दा कम हानिकारक रहेको विज्ञहरू दाबी गर्छन् । नेसनल लाइब्रेरी अफ मेडिसिनको एक अध्ययन अनुसार हिटरले स्वास्थ्यमा पार्ने नकारात्मक असरहरू वयस्क र ठूला व्यक्तिभन्दा शिशुहरूमा धेरै हुन्छन् ।

त्यसमा पनि कोठाको वातावरण अनुसारको तापक्रम नमिलेको खण्डमा हिटरले मृत्युसम्मको जोखिम निम्त्याउन सक्छ । त्यस्तै घरमा धेरै प्रयोग हुने इन्फ्रारेड हिटरले नवजात शिशुको आँखामा पनि असर पुयार्उन सक्छ । रुम हिटर चलाउने र कोठालाई न्यानो बनाएपछि बन्द गर्नु जोखिमबाट बच्ने उपाय हो । नवजात शिशुका लागि फ्यान हिटर प्रयोग गर्नु उचित हुने नेसनल लाइब्रेरी अफ मेडिसिनले जनाएको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ८ माघ २०८१, मंगलवार ०९:१९

लोकप्रिय