२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

लुम्बिनी कप महिला फुटबल नेपालगन्जमा, आठ टोलीको सहभागिता

लुम्बिनी कप महिला फुटबल प्रतियोगिताबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलन ।

महिला फुटबलको विकासका लागि पहिलो पटक नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा नेपालगन्ज रंंगशालामा आगामी फागुन १९ देखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

नेपालगन्जमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले प्रतियोगितामा नेपालका ए डिभिजनका ६ वटा टीम र भारतका दुई वटा टीम गरेर आठ वटा टीमको सहभागिता रहने बताए । उनले लामो समयपछि नेपालगन्जमा ठुलो फुटवल प्रतियोगिता आयोजना हुन थालेको जनाउँदै त्यसका लागि स्रोत व्यवस्थापनसँगै अन्य तयारी तीव्र पारिएको बताए ।

कोभिडपछि पहिलो पटक नेपालगन्ज रंगशालालाई खेल र खेलाडीका लागि खुल्ला गरिएको जनाउँदै प्रमुख कार्यकारी शाहले प्रतियोगितालाई भव्य बनाउन सङ्घीय सरकारदेखि स्थानीय सरकार र विभिन्न गैर सरकारी निकायको पनि सहयोग आवश्यक रहेको बताए । प्रतियोगितामा करिब एक करोड ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको जनाउँदै शाहले सोतहरु खोजी गर्ने कार्य भइरहेकाले प्रायोजक हुन चाहनेहरुलाई सम्पर्क गर्न अनुरोध गरे ।

बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रीय सदस्य भोजराज शाहीले लामो समयपछि नेपालगन्जमा ठुलो प्रतियोगिता आयोजना हुन थालेकोले भव्य बनाउन सबैको सहयोग अपरिहार्य भएको बताए । उनले यस प्रतियोगिताले बाँके र यस क्षेत्रमै नयाँ प्रतिभाहरू आउने विश्वास व्यक्त गर्दै बाँके जिल्ला फुटबल संघ लुम्बिनी कपलाई सफल पार्न जुटिसकेको बताए । लुम्बिनी कप महिला फुटबल पश्चिम नेपालकै गर्व गर्न लायक इभेन्ट बन्ने निश्चित भएको जनाउँदै शाहीले यसबाट नेपालगन्जमा खेलकुद गतिविधि तीव्र हुने बताए ।

‘त्यसैलाई लक्षित गरेर सबै स्थानीय तहमा छनोट, प्रशिक्षण लगायत कार्यक्रम गरिनेछ,’ उनले भने । उक्त प्रतियोगिताभन्दा अघि नेपालगन्जमा महिला फुटबल मेयरकप पनि आयोजना गर्न लागिएको उनको भनाइ छ । प्रतियोगिताको तयारी थालिएको उल्लेख गर्दै आयोजक अन्तरालका कार्यकारी प्रमुख शाहले खेलाडी तथा अफिसियलको बसोबास, खानपान तथा आवतजावतलाई प्राथमिकतामा राखेको बताए । प्रतियोगिता आयोजनाका लागि नेपालगन्ज रङ्गशालामा सचिवालय पनि स्थापना गरिएको छ ।

प्रतियोगिताको लोगो नेपाली राष्ट्रिय महिला फुटबल टिमका पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एञ्जिला तुम्बापो सुब्बाले संयुक्त रुपमा सार्वजनिक गरेका थिए । लोगोमा भगवान गौतम बुद्ध, खेलाडीको आकृति र नेपाली राष्ट्रिय झण्डाको निलो तथा सिम्रिक रङ समेटिएको छ । पत्रकार सम्मेलनमा पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, बाँके महिला फुटवल समितिका अध्यक्ष नितु शाह चन्द, प्रचारप्रसार उपसमितिका संयोजक निरज गौतम, वरिष्ठ फुटबल खेलाडीहरु र विभिन्न उपसमितिका संयोजकहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : २०८१ माघ ५ गते शनिबार