सूचनाको शक्ति - The Power Of Information

        

बलिउड कलाकार सैफ अली खानमाथि छुरा प्रहार

बलिउड कलाकार सैफ अली खानमाथि उनकै घरमा छिरेर एक व्यक्तिले छुरा प्रहार गरेका छन् । बुधबार राति साढे २ बजेतिर मुम्बईको बान्द्रास्थित खानको घर पटौदी प्यालेसमा प्रवेश गरेका एक सन्दिग्धले खानमाथि छुरा प्रहार गरी भागेका थिए । बीबीसी हिन्दीका अनुसार सैफलाई चोटग्रस्त अवस्थामा बिहान साढे ३ बजे लिलावती अस्पताल पुर्याइएको थियो ।

अस्पतालका सिओओ डा.निरज उत्तमानीले सैफको जिउमा ६ वटा चोट रहेको बताएका छन् । तीमध्ये दुइटा चोट गहिरो रहेको डा.निरजले हिन्दुस्तान टाइम्ससँग भनेका छन् । एउटा चोट घाँटी नजिक र अर्को चोट मेरूदण्ड नजिक रहेको उनले बताएका छन् । सैफको उपचारमा तीन जना चिकित्सक खटिएका छन् ।

मेरूदण्ड नजिकको चोट निकै गहिरो भएको र त्यहाँ १० वटा टाँका लगाइएको अर्का डाक्टरले भनेका छन् । यद्यपि सैफको मेरूदण्डमै असर भने नगरेको उनले बताएका छन् । घटना भएको समयमा सैफकी श्रीमती करिना कपुर घरमा थिइनन् । सैफ सहयोगी र दुई छोराहरूसँग घरमै थिए । करिना आफ्नी दिदी करिश्मासँग एक पार्टीमा रहेको भनिएको छ ।

संदिग्ध व्यक्ति घरमा प्रवेश गरेपछि सैफका सहयोगीले रोक्ने प्रयत्न गरेका थिए । त्यसपछि सैफ आफैं ती संदिग्धलाई रोक्न जाँदा छुरा प्रहार गरेर भागेको बताइएको छ । त्यस क्रममा सैफ र ती सन्दिग्धबीच केहीबेर घम्साघम्सी भएको थियो । घटनाको क्राइम ब्रान्च मुम्बईले अनुसन्धान गरिरहेको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार १४:४५

लोकप्रिय