सूचनाको शक्ति - The Power Of Information

        

भूकम्पको उच्च जोखिममा नेपालगन्ज

सहरीकरण हुँदैजाँदा भौतिक संरचना भूकम्प प्रतिरोधी बनाउन ध्यान नदिएको र ठुलो संख्यामा धेरै पुराना घरहरु रहेकाले नेपालगगन्ज भूकम्पको उच्च जोखिममा रहेको छ । विगतमा भूकम्पले देशमा ठुलो क्षति गरेपछि सरकारी स्थलमा बन्ने संरचना भूकम्प प्रतिरोधी बनाउन थालिए पनि व्यक्तिगत रूपमा हुने निर्माणमा लापरवाही अझै पाइने गरेको छ  ।

पश्चिम नेपालमा भूकम्प गएमा ठुलो जनधनको क्षति हुने आँकलन गर्दै तथ्याङ्कहरू सार्वजनिक हुँदै आएका छन् । बाँके अन्तर्गत पश्चिम नेपालको पुरानो सहर नेपालगन्जमा पनि भूकम्पीय जोखिम अत्यधिक रहेको अध्ययनले देखाएको छ ।

नेपालगन्जमा भूकम्प गए हुनसक्ने क्षति र पूर्व तयारीबारे सुपर परियोजनाले नेपालगन्जमा वस्तुस्थिति अध्ययन गरी अनुसन्धानका क्रममा ७–८ रेक्टर स्केलको भूकम्प गएमा नेपालगन्जमा २१८ घर पूर्णरूपमा क्षति हुने अनुमान गरेको छ । त्यस्तै, ८.६ रेक्टर स्केलको भूकम्प गएमा ३ हजार घरमा क्षतिपुग्न सक्ने प्रक्षेपण गरिएको छ ।

परियोजनाको अध्ययन अनुसार, नेपालगन्जमा मात्र ११ हजार ८०० जनाभन्दा बढी मानिसहरू विपद्को जोखिममा छन् । त्यसैले पनि सुपर परियोजनाले पूर्वतयारी र प्रतिकार्यमा जोड दिएको छ । सुपर परियोजनाले भूकम्पको असर, पूर्वतयारी र स्रोत विकासका लागि पूर्व तयारी योजना बनाउन दोस्रो फेजको अध्ययन सुरु गरेको सुपर परियोजनाका रूपन ज्ञवालीले जानकारी दिए ।

अध्ययन, अनुसन्धान गत जनवरीदेखि सुरु गरिएको जनाउँदै नेपालगन्जका सबै वडामा हुने उहाँले बताए । भूकम्प आइहाले हुने क्षतिको पूर्वानुमान र त्यसको व्यवस्थापनको पूर्व तयारी भए भूकम्पका बेला प्रभावकारी काम गर्न सकिने ज्ञवालीको भनाइ छ ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार ११:५५

लोकप्रिय