२०८३ मंसिर ११ , शुक्रबार 28, November 2026, Saturday

रवि लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस

स्वर्णलक्ष्मी सहकारीको रकम सङ्गठित तवरले ठगी गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज (बुधबार) पनि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ ।

यसअघि सोमबार न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको थियो । सोमबार अदालतमा जाहेरवाला र सरकारी वकिलको तर्फबाट बहस सकिएको थियो ।

समय अभाव भएकाले प्रतिवादी लामिछानेको तर्फबाट भने बहस सुरु नै भएन । हिजो (मंगलबार) सार्वजनिक बिदा भएकाले बहस हुन सकेन । यसर्थ सोमबारको बहसलाई आज निरन्तरता दिन लागिएको हो ।

प्रतिवादी लामिछाने तर्फका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । त्यसपछि उनलाई धरौटीमा रिहा गर्ने कि पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश हुनेछ ।

लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ताद्वय सुशीलकुमार पन्त र रमन श्रेष्ठले बहस गर्नेछन् । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ । जसमा पक्राउ परेका दुई जना धरौटी रकम बुझाएर रिहा भइसकेका छन् ।

प्रकाशित मिति : २०८१ माघ २ गते बुधबार