२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

इन्जिनियरको अवैध कमाई पाँच करोड, अख्तियारमा मुद्दा दायर

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ पुस २८ गते आइतबार

जलश्रोत तथा सिंचाइ विभागमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध झण्डै पाँच करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध चार करोड ८८ लाख ३० हजार ३२९रुपैयाँ ५४ पैसा बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

श्रेष्ठले लामो समय सिंचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनाहरुबाट ठेकेदारहरुसँग मिलेमतो गरी कमिसन लिई भ्रष्टाचार गरेको उजुरी परेको थियो । सोही कमिसनबाट उनले काठमाडौं, ललितपुर लगायत बिभिन्न स्थानहरूमा घर घडेरी, गाडी खरिद तथा बिभिन्न कम्पनीका शेयर तथा कम्पनीमा लगानी गरेको उजुरीमा उल्लेख थियो ।

यस सम्बन्धमा अनुसन्धान हुँदा श्रेष्ठले चार करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँ बराबरको खर्च तथा लगानी (सम्पत्ति)को स्रोत खुलाउन नसकेकाले भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इन्जिनियर श्रेष्ठले ठेकेदारसँग मिलेमतो गरेर कमिसन लिएर काठमाडौं, ललितपुर लगायत विभिन्न स्थानमा घर घडेरी तथा जग्गा जोडेको उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

‘वैधानिक रुपमा सम्पत्ति आर्जन गरेको भन्ने वस्तुनिष्ठ आधार तथा प्रमाणबाट प्रमाणित गर्न नसकेकोले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएकोले बिगो चार करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँ कायम गरी सम्पत्ति जफत एवं असुल उपर हुन माग दाबी लिइएको छ,’ उनले भने ।

साथै, श्रेष्ठले सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति आफन्तको नाममा राखेको देखिएकाले जफत गर्ने प्रयोजनको लागि पत्नी लक्ष्मी कुमारी श्रेष्ठ, बाबु हरिकुमार श्रेष्ठ, आमा इन्द्रकुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठलाई समेत प्रतिवादी कायम गरिएको घिमिरेले बताए ।

प्रकाशित मिति : २०८१ पुस २८ गते आइतबार