सूचनाको शक्ति - The Power Of Information

        

एचपीभी खोप लगाउनु कति सुरक्षित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाठेघरको क्यान्सरविरुद्धको खोप अभियानमा जुटेको छ । आउँदो माघ २२ देखि फागुन ६ गतेसम्म करिब १७ लाख बालिकालाई पठोघरको मुख्यको क्यान्सर गराउने भाइरसविरुद्धको खोप दिइँदैछ । राष्ट्रव्यापी अभियान सञ्चालन गरी ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)विरुद्धको खोप दिन लागिएको हो ।

१० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ बालिकालाई यो खोप दिइने स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । ‘डेमोस्ट्रेसन’का रूपमा गएको भदौमा १४ वर्ष पूरा भई १५ ननाघेका १० हजार बालिकालाई यो खोप दिइएको थियो । विद्यालयलाई मुख्य केन्द्र बनाएर खोप दिन लागिएको छ ।

स्वास्थ्य संस्थाबाट पनि खोप दिइनेछ । ६ देखि १० कक्षासम्मका छात्रा वा १० देखि १४ वर्षसम्मका किशोरीलाई यो खोपको लक्षित वर्गमा राखिएको छ । महानगर र उपमहानगरपालिका क्षेत्रका निम्ति १० दिन र अरू पालिकामा जनसंख्या हेरेर खोप कार्यक्रम सञ्चालन गरिने खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।

किन लगाउने एचपीभी खोप ?

पाठेघरको मुखको क्यान्सर गराउने २०० प्रजातिका भाइरसमध्ये १६ र १८ प्रमुख कारक रहेको विभिन्न अध्ययनबाट पुष्टि भएको छ । नेपालमा पनि पाठेघरको मुखको क्यान्सर गराउने ८० प्रतिशत कारक यिनै दुई प्रजाति भएको पाइएको छ । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सरिता घिमिरेका अनुसार, पाठेघरको क्यान्सर गराउने भाइरस (एचपीभी) छालामा कतै न कतै रहेको हुन्छ ।

स्वस्थ शरीरले यसलाई दबाएर राखेको भए पनि भाइरस व्याप्त रहन्छ । किशोरावस्थाको प्रारम्भिकस्तरमा शारीरिक सम्पर्क अगावै खोप दिइँदा भाइरसबाट सुरक्षित हुन सक्ने विभिन्न अध्ययनको निष्कर्ष छ । सोही कारण १४ वर्षसम्मका बालिकालाई खोप दिन लागिएको डा.घिमिरेले बताइन् ।

खोप कति प्रभावकारी ?

हाल दिन लागिएको सिकोलिन खोप यी दुई प्रजाति (१६ र १८)विरुद्ध तयार गरिएको हो । एक डोज मात्र दिइने यो खोपको प्रभावकारिता ९६ प्रतिशत रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पुष्टि गरेको छ । नेपालमा यसअघि एचपीभीविरुद्धको दुई डोजवाला खोप दिइएको थियो ।

हाल दिन लागिएको एक डोज र यसअघिका सबैखाले खोपले भाइरसविरुद्ध अन्तिम सतहसम्मै पुगेर काम गर्ने हुन्छ । एन्टिबडीको लेभल पनि उस्तै भएकाले एक डोज उत्तिकै प्रभावकारी रहेको डा. घिमिरे बताउँछिन् । यो खोप लगाएकै कारण बालिकाको मृत्यु भएको घटना विश्वका कुनै पनि देशमा हालसम्म रेकर्डमा नरहेको उनको भनाइ छ ।

आउँदो आर्थिक वर्षदेखि नियमित तालिकामा नै राखेर एचपीभीविरुद्धको खोप दिइने डा. गौतमले बताए । परिवार कल्याण महाशाखाको तथ्यांकानुसार, पाठेघरको मुखको नयाँ बिरामी देखिने दर १६.४ प्रतिशत प्रतिलाख छ । हाल नेपालमा पाठेघरको मुखको क्यान्सरबाट दैनिक औसत चारजनाको मृत्यु भइरहेको महाशाखाको तथ्यांक छ ।

सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रूपमा रहन नदिने अर्थात् निवारण गर्ने डब्ल्यूएचओको लक्ष्य छ । ग्लोबल अलायन्स फर भ्याक्सिन (गाभी)सँगको सहवित्तीयकरणमा नेपालले १७ लाख जनसंख्याका निम्ति खोप भित्र्याएको छ । यो खोपमा सरकारको प्रतिडोज करिब ४०० रुपैयाँ लगानी रहेको परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लाल बताउँछन् ।

अरू देशमा पनि दिइन्छ यो खोप ?

डब्ल्यूएचओका अनुसार, एचपीभीविरुद्धको खोप हाल विश्वका १४४ देशमा नियमित रूपमा दिइँदै छ । नेपालमा दिइनेजस्तै एक डोजवाला खोप ६१ देशले दिइरहेका छन् । ७७ देशमा विद्यालयबाट नै दिइएको खोप कार्यक्रम प्रभावकारी भइरहेको डब्ल्यूएचओको रिपोर्ट छ । ०.५ एमएलका दरले दिइने यो खोप निःशुल्क, सुरक्षित र प्रभावकारी रहेकाले अभियानमा अनिवार्य रूपमा सहभागी हुन उक्त शाखाले आग्रह गरेको छ ।

असर देखिन्छ ?

एचपीभी खोप लगाएपछि केही सामान्य असर देखिन सक्ने खोप शाखाले जनाएको छ । सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, हल्का ज्वरो, वाकवाकी, टाउको दुख्ने, रिंगटा लाग्नेजस्ता लक्षण देखिन सक्ने डा.गौतमले जानकारी दिए ।

यस्ता लक्षण केही समयपछि आफैँ ठिक हुने भएकाले नआत्तिन उनको अनुरोध छ । रजस्वलाको समयमा पनि खोप लगाउन मिल्ने र यसले महिनावारी छिटो वा ढिलो हुनेमा कुनै असर नपार्ने डा.गौतमले बताए । खोप लगाउने किशोरी विद्यार्थी भए परिचयपत्र र नभए उमेर खुल्ने प्रमाणपत्र लैजान आग्रह गरिएको छ ।

प्रकाशित मिति : २८ पुष २०८१, आइतवार १५:५२

लोकप्रिय