सूचनाको शक्ति - The Power Of Information

        

बिजुली पुगेपछि जुम्लाका गाउँहरु झिलिमिली

विद्युतको उज्यालो अभाव खेपिरहेको जुम्लामा पहिलो पटक एक मेगावाट विद्युत् उत्पादन भएपछि गाउँहरु झिलिमिली भएका छन् । पातारासी गाउँपालिकाको चुकेनी जलविद्युत् सहकारी संस्था लिमिटेडबाट सञ्चालित योजनाको निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि विद्युत् अभाव टरेको हो । जुम्लाको खलंङ्गगा बजारमा दैनिक १८ घण्टासम्म लोडसेडिङ् हुने गरेको थियो ।

नेपाल विद्युत् प्राधिकरण जुम्लाको घुघुतिमा रहेको पावरहाउसका मेसिनमा पटक पटक आउने समस्या र जुगाड खोलामा पानीको वहाव घट्दै जाँदा लोडसेडिङ् बढ्ने गरेको थियो । तर अहिले चुकेनी जलविद्युत् योजनाले विद्युत् उत्पादन गरेपछि लोडसेडिङ्को मार हटेको छ । जुम्लामा विद्युत् प्राधिकरणले केन्द्रीय प्रसारण लाइन पुगाए पनि भोल्टेज कम हुने समस्या हुँदा विद्युत् प्रयोग माग अनुसार हुन सकेको थिएन ।

पातारासी गाउँपालिका–१ मा निर्मित एक मेगावाटको चुकेनी खोला जलविद्युत् परियोजनाको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र एशियाली विकास बैंकको आर्थिक सहयोगमा स्थानीय तथा गाउँपालिकाको स्वलगानी र कृषि विकास बैंकको ऋण लगानी तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम अन्तर्गतको ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रमको प्राविधिक सहयोगमा हालै निर्माण सम्पन्न भएकाले हाल जुम्ला बजार झिलिमिली भएको हो ।

यस परियोजनामा पातारासी गाउँपालिकाका सम्पूर्ण घरधुरीको शेयर रहेको चुकेनी जलविद्युत् सहकारी संस्थाका अध्यक्ष गोरबहादुर बुढाले बताए । अध्यक्ष बुढाका अनुसार परियोजना निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्ध केन्द्रमार्फत एशियाली विकास बैंक र नेपाल सरकारको रु २८ करोड ४४ लाख ३० हजार अनुदान, रु ५ करोड नेपाल सरकारको मूअ कर सहयोग तथा स्थानीय जनता, गाउँपालिका र प्रदेश सरकारको शेयर लागनी रु ११ करोड गरी जम्मा रु ४४ करोड ४४ लाख ३३ हजार लगानी रहेको छ ।

राष्ट्रिय प्रसारण प्रणालीको भर पर्न नसकिने विद्युत् आपूर्तिले हैरान जुम्लाबासी गाउँपालिकाको सिरानमा रहेको यस चुकेनी खोला साना जलविद्युत् परियोजनाको निर्माण धेरैको चासोमा थियो । परियोजनाबाट लामो प्रतीक्षापछि जुम्लाले भरपर्दो तथा गुणस्तरीय विद्युत् बाल्न पाएकोमा उपभोक्ताहरू हर्षित भएको नवीकरणीय ऊर्जाका लागि जीविकोपार्जन परियोजनाका फिल्ड संयोजक पृथ्वी शाही बताउँछन् ।

गाउँपालिकाभित्र सहकारी आफैँले विद्युत् वितरण गरेको छ भने अन्य स्थानका लागि नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् बिक्री गरी सेवा पुगाएको शाहीले जानकारी दिए । सदरमुकाम एवं चन्दननाथ नगरपालिका वरिपरिका स्थानमा गुणस्तरीय र पर्याप्त मात्रामा विद्युत् उपलब्ध भएपछि साना ठूला उद्योगहरूलाई सहज भएको छ ।

विद्युत् अभावका कारण सञ्चालनमा आउन नसकेका उपकरणहरु पनि धमाधम प्रयोगमा आउन थालेको र अन्य व्यवसायी, विद्यालय, स्वास्थ्य चौकी, सरकारी कार्यालय तथा संघ संस्था र घरधुरीहरूले विद्युतीय हिटर, एयरकन्डिसनर, कुकर, केत्ली जस्ता उपकरणहरु प्रयोग गर्न थालेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण शाखाका प्रमुख रामआशिष शाहले जानकारी दिए ।

साथै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लान्ट समेत सञ्चालनमा आएको छ । हाल जिल्लाका प्राधिकरणको प्रणालीमा आबद्ध करिब साढे सात हजार घरधुरीले पनि सोही परियोजनाको विद्युत् प्रयोग गरिरहेको विद्युत् प्रधिकरण वितरण केन्द्रले जनाएको छ । परियोजनाले चन्दननाथ नगरपालिकाभित्रका सम्पूर्ण व्यवसायीहरूलाई ठूलो टेवा पुगेको समेत नगर प्रमुख राजु सिंह कठायतले बताए ।

प्रकाशित मिति : २८ पुष २०८१, आइतवार ११:४७

लोकप्रिय