दक्षिण कोरियाको यातायात मन्त्रालयले दुर्घटनाग्रस्त जेजु एयरको विमानको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डर भएको ‘ब्ल्याक बक्स’ले दुर्घटना हुनुभन्दा चार मिनेटअघि रेकर्डिङ गर्न छोडेको जनाएको छ । गएको डिसेम्बर २९ मा उक्त बोइङ ७३७–८०० विमान थाइल्यान्डबाट दक्षिण कोरियाको मुआनका निम्ति उडेको थियो ।
मुआन विमानस्थलमा अवतरण गर्दा सिमेन्टको पर्खालमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा विमानमा सवार १७९ जनाको मृत्यु भएको थियो । दुईजनालाई जीवितै उद्धार गरिएको थियो । दक्षिण कोरियाली भूमिमा यो हालसम्मकै सबैभन्दा खराब हवाई दुर्घटना हो । ‘विश्लेषणले सीभीआर र एफडीआर दुवैले दुर्घटनाभन्दा चार मिनेटपहिलेको अवधिमा रेकर्ड नगरिएको देखाएको छ,’ यातायात मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रारम्भिक अनुसन्धानले विमान अवतरणमा मद्दत गर्ने वा ‘ब्लाइन्ड ल्यान्डिङ’मा प्रयोग हुने रेडियो ट्रान्समिटर (लोकलाइजर)लाई दुर्घटनाको गम्भीरता बढाउनका निम्ति दोषी ठहर्याएको छ । क्षतिग्रस्त फ्लाइट डाटा रेकर्डरलाई दक्षिण कोरियाली अधिकारीले डाटा निष्कर्षका निम्ति अप्राप्य भनेका थिए । यसलाई अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रयोगशालामा विश्लेषणका निम्ति संयुक्त राज्य अमेरिका पठाइएको थियो ।
उडानको अन्तिम क्षणको जानकारी रेकर्ड गर्ने बक्सहरूमा तथ्यांक नष्ट भएको पाइएको र यो किन र कसरी भयो भन्ने विषय खोजी भइरहेको अधिकारीहरूले बताए । ‘जारी दुर्घटना अनुसन्धानका क्रममा तथ्यांक हराउनुको कारण पत्ता लगाउने प्रयास जारी छ,’ मन्त्रालयले भनेको छ । दक्षिण कोरियाली र अमेरिकी अन्वेषकले अझै पनि दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन् ।
अनुसन्धानकर्ताले ती बक्सहरू अनुसन्धानका निम्ति महत्त्वपूर्ण रहेको बताउँदै दुर्घटनाको कारण पत्ता लगाउने प्रयास जारी रहने बताए । ‘विभिन्न तथ्यांकको परीक्षण र विश्लेषण गरेर अनुसन्धान गरिनेछ । दुर्घटनाको कारण पत्ता लगाउन समिति सक्दो प्रयास गर्न प्रतिबद्ध छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अनुसन्धानकर्ताले चराको आक्रमण, खराब अवतरण गियर र रनवे अवरोधलाई सम्भावित समस्याका रूपमा औँल्याएका छन् ।
चालकले पहिलो अवतरण प्रयासअघि नै चराको आक्रमण (चरासँग ठक्कर) हुन सक्ने चेतावनी दिएका थिए । त्यसपछि दोस्रो अवतरण प्रयासमा ल्यान्डिङ गियरले काम गरेको थिएन । यसै हप्ता प्रमुख अनुसन्धानकर्ता ली सेउङ–योलले पत्रकारसँग घटनास्थलमा रहेको विमानकोे एउटा इन्जिनमा ‘प्वाँखहरू फेला परेको’ बताएका थिए । अधिकारीहरूले मुआन विमानस्थल, दक्षिणपश्चिमी सहरमा रहेको क्षेत्रीय उड्डयन कार्यालय र राजधानी सियोलस्थित जेजु एयरको कार्यालयमा छापा मारेका छन् ।
उनीहरुले जेजु एयरका प्रमुख कार्यकारीलाई पनि देश छोडी बाहिर जान रोक लगाएका छन् । विपक्षी दलले दुर्घटनाको छानबिनका निम्ति संयुक्त कार्यदल गठन गरेका थिए भने यातायातमन्त्री पार्क साङ–वुले यसै साता राजीनामा दिएका थिए । राजीनामाको घोषणा गर्दै उनले भनेका थिए, ‘उड्डयन सुरक्षाको जिम्मेवारीमा रहेको मन्त्रीको हैसियतले मैले यस त्रासदीप्रति ठूलो जिम्मेवारी महसुस गरेको छु र स्वतन्त्र अनुसन्धानका निम्ति मार्गप्रशस्त गरेको छु ।’
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सियोल