सूचनाको शक्ति - The Power Of Information

        

पुल भाँचिदा अवरुद्ध राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग डाइभर्सनपछि सञ्चालनमा आएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ मा पर्ने खोलामा पुल भाँचिएर अवरुद्ध सडक विनयी त्रिवेणी–२ को ज्यामिरेबाट डाइभर्सन गरी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेशी शाहका अनुसार ज्यामिरे चोकबाट त्रिवेणी क्रसर हुँदै सिजीचोक, डाँडाचौर, होङ्सी गेट निस्कने गरी वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको हो । शुक्रबार अपराह्न विनयी पुलमा रहेको पूर्वपट्टिको फलामको भाग भाँचिदा राजमार्ग अवरुद्ध भएसँगै सवारी साधनले करिब पाँच किलोमिटर घुम्नुपर्ने भएको छ ।

उक्त पुल भाँचिदा रुपन्देशीको कृष्णनगर भन्सारबाट चितवनतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट एन एल ०१ ए एच ५१६९ नम्बरको ७४ चक्के टेलर पुलको बीचमा फसेको छ । उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । शिवम् सिमेन्टको सामान बोकेको ६० टन क्षमताको ट्रक पुल पार गर्ने क्रममा बीच भागबाट पुल भाँचिएको थियो । ट्रक पुलको बीच भागमा नै फसेको छ । शुक्रबार साँझ ५ बजे पुलको बीच भाग भाँसिएपछि यातायात अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : २७ पुष २०८१, शनिबार ०९:५५

लोकप्रिय