सूचनाको शक्ति - The Power Of Information

        

बालविवाह घटाउन बाँकेका युवा सक्रिय

विशेषगरी मुस्लिम समुदायमा रहेको बालविवाहको गलत अभ्यासलाई न्यूनीकरण गर्न नेपालगन्जका युवा सक्रिय हुन थालेका छन् । जिल्लास्थित समृद्धि फाउण्डेशन नेपालले मुस्लिम समुदायमा रहेको बालविवाहको गलत अभ्यासलाई युवाको सहभागिता र पहलमार्फत न्यूनीकरण गर्न नेपालगन्ज उपमहानगरपालिकाका सबै वडामा युवा क्लब गठन गर्ने अभियान सञ्चालन गरेको हो ।

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग र द एसिया फाउन्डेशन मुख्य कार्यान्वयन संस्था रहेको युएसएआइडी नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत राष्ट्रिय युवा परिषद्ले जारी गरेको युवाक्लब गठन कार्यविधि, २०७५ अनुसार १६ देखि २४ वर्ष उमेर समूहका युवालाई समावेश गरी वडास्तरीय युवा क्लब गठन भइरहेको समृद्धि फाउण्डेशन नेपालका कार्यक्रम संयोजक शकील अहमद खानले जानकारी दिए ।

उनका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका १३ वडामा युवाक्लब गठन गरिसकिएको छ भने अन्य वडामा पनि क्लब गठनको तयारी भइरहेको छ । बालविवाह, दाइजो प्रथा र सामाजिकरूपमा हानि गर्ने अभ्यास न्यूनीकरणका लागि युवाको सङ्गठन निर्माण गरी सामुदायिक गतिविधिमा सहभागिता वृद्धि गराउने र स्थानीय युवाबीच बलियो सामुदायिक सम्बन्ध स्थापना गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको कार्यक्रम संयोजक खानले बताए ।

अभियानमार्फत सचेत, सजग र सशक्त युवाको उपलब्धता हुने लक्ष्य राखिएको छ । ‘युवाहरूलाई सशक्तीकरण, सामाजिक एकता प्रवद्र्धन र सामुदायिक संलग्नतालाई प्रोत्साहित गर्न र सक्रियता बढाउनेतर्फ ध्यान दिन युवा क्लबको गठन गरिएको हो,’ कार्यक्रम संयोजक खानले भने, ‘वडास्तरमा युवा क्लबहरूको स्थापनापश्चात् युवाले आफूलाई परेको समस्या अभिव्यक्त गर्न, सीप विकास गर्न र स्थानीय समस्यालाई सम्बोधन गर्न मञ्च प्रदान गर्नुका साथै युवाको नेतृत्व तथा क्षमता विकास र परिचालनमा सहजीकरण हुने आपेक्षा गरिएको छ ।’

स्थानीय तहमा सञ्चालन हुने सरसफाइ, वातावरण संरक्षण, बाल अधिकार, मानव अधिकार, महिला अधिकार, शैक्षिक कार्यक्रम, सामाजिक कुरीतिविरूद्धका सचेतना अभियानमा सक्रियतापूर्वक सहभागी भई कार्यक्रम सफल बनाउन क्लबले सहयोग गर्ने लक्ष्य राखेको छ । प्रत्येक वडामा रहेका १६ देखि २४ वर्ष उमेर समूहका ५० प्रतिशत महिला रहने गरी मधेसी मुस्लिम र पछाडि पारेका सीमान्तकृत समुदायका पत्रकार, खेलाडी, कलाकार र अपाङ्गता भएका युवालाई क्लबमा समावेश गरिने समृद्धि फाउण्डेशनका अध्यक्ष महेश चौधरीले जानकारी दिए ।

योजना कार्यान्वयनमा स्थानीय अधिकारी, जनप्रतिनिधि, सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधि, लक्षित समूह र सामुदायिक संस्थाहरूलाई संलग्न गराउने, वडा स्तरीय जनप्रतिनिधि र स्थानीय सरकारलाई युवा क्लब गठनप्रति बढी जवाफदेही हुने अवस्था निर्माण गर्न संस्थाले पहल गरिरहेको उनले उल्लेख गरे ।

प्रकाशित मिति : २४ पुष २०८१, बुधबार १४:४२

लोकप्रिय