सूचनाको शक्ति - The Power Of Information

        

बाघको आहारा बढाउन घाँसे मैदान क्षेत्र बढाउँदै बाँके निकुञ्ज

बाघ संरक्षणका लागि विसं २०६७ मा स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा घाँसेमैदान क्षेत्र बढाउन लागिएको छ । नेपालकै कान्छो निकुञ्जका रुपमा घोषणा भएको उक्त निकुञ्जमा बाघको आहार बढाउनका लागि क्षेत्र बढाउने तयारी गरिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले निकुञ्जभित्र रहेको करौंती घाँसे मैदानको क्षेत्रलाई थप ५० हेक्टर क्षेत्रफलमा बढाउने तयारी गरिएको बताए । ‘हामीसँग हालसम्म ४०० हेक्टर क्षेत्रफलमा घाँसेमैदान रहेका छन् । यहाँ रहेका २५ वटा बाघका लागि घाँसे मैदान क्षेत्र बढाउन सकिएमा बाघलाई आहार जुटाउन सहज हुन्छ । त्यही उद्देश्यले करौंती घाँसे मैदानको ४० देखि ५० हेक्टर क्षेत्रफल बढाउने तयारीमा छौँ,’ उनले भने ।

कँडेलले बाघको सङ्ख्या बढेसँगै संरक्षणमा चुनौती थपिएको बताए । उनले बाघ संरक्षणका लागि आहारा प्रजातिका जनावरको सङ्ख्या बढाउनेतर्फ पनि निकुञ्जले ध्यान केन्द्रित गरेको जानकारी दिए । यसका लागि मृग, चित्तल, चौका, बँदेल, रतुवा लगायत वन्यजन्तुको संरक्षण गरिने कँडेलको भनाइ छ । उनका अनुसार एउटा बाघले वर्षमा औसतमा ५० वटा सिकार गर्छ भने एकपटकमा १५ देखि ४० किलोसम्म मासु खाने गर्छ । जुन एक हप्तासम्मका लागि हुन्छ ।

त्यसैले बाघ बढेसँगै तिनको सुरक्षा, निकुञ्जमा मानव प्रवेश नियन्त्रण, बाघको आहारा प्रजातिका वन्यजन्तुको सङ्ख्या थप वृद्धि लगायत चुनौती रहेको उनले सुनाए । निकुञ्जका सूचना अधिकृत मन्दीप पँगेनीले करौंतीघाँसे मैदानमा बाघको सहजताका लागि तीन वटा सोलार जडित पानीपोखरी र एउटा मचान बनाइएको बताए । बाँकेमा सन् २००८ देखि बाघ गणना सुरु भएको थियो ।

सो समयमा निकुञ्जमा बाघ देखिएको थिएन तर हाल यहाँ बाघको सङ्ख्या २५ पुगेको छ । सन् २०१३ मा दोस्रो बाघ गणनामा चार, सन् २०१८ मा भएको तेस्रो गणनामा २१ पुगेकामा त्यसयता बाघको सङ्ख्या ह्वात्तै बढेको निकुञ्जका प्रमुख कँडेलले जानकारी दिए । नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको बासस्थान र जैविकमार्ग संरक्षण गर्ने उद्देश्यले विसं २०६७ असार २८ गते बाँके निकुञ्ज स्थापना गरिएको थियो ।

उक्त निकुञ्जले बाँके, दाङ र सल्यानको ५५० वर्ग किलोमिटर क्षेत्रलाई समेटेको छ । यस निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिणपूर्व–पश्चिम राजमार्ग रहेको छ । यहाँ जैविक विविधताको दृष्टिले महत्वपूर्ण मानिएको यस निकुञ्ज क्षेत्रमा आठवटा इकोसिष्टम, १२४ वनस्पति प्रजाति, ३५ प्रजातिका स्तनधारी, तीन सयभन्दा बढी प्रकारका चराका प्रजाति, ५८ प्रजातिका माछा, २२ सरीसृप तथा छ प्रकारका उभयचरहरू पाइन्छन् ।

११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ चराहरू निकुञ्जभित्र रहेका छन् । बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग किलोमिटर क्षेत्रलाई समेटेर यहाँ मध्यवर्ती क्षेत्र पनि घोषणा गरिएको छ । यो निकुञ्ज पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएकाले ठूला वन्यजन्तुका लागि एकदमै महत्वपूर्ण बासस्थानका रूपमा रहेको छ ।

स्रोत : रासस
प्रकाशित मिति : २१ पुष २०८१, आइतवार १६:५१

लोकप्रिय