देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपंछी गणना कार्य गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंछी गणना कार्य गरिँदै आएको छ ।
जनवरी ४ तारिखदेखि १९ सम्म (पुस २० गतेदेखि माघ ६ गतेसम्म) जलपंछीको सङ्ख्या, प्रजाती, बासस्थानको अवस्था बारे जानकारी लिनका लागि गणना कार्य हुन लागेको नेपाल पंछीविद् सङ्घका बरिष्ठ चराविद् तथा वेटल्याण्ड्स इन्टरनेशनल नेपालका लागि जलपंछी गणना संयोजक लक्ष्मणप्रसाद पौडयालले बताए ।
उनका अनुसार यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क सङकलन कार्य हुनेछ । गत वर्ष कोशिटप्पु बन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज, काठमाडौँ, पोखरा, लुम्बिनी, बिसहजारी ताल, घोडाघोडी, जगदिशपुर लगायतका तालसँगै देशका विभिन्न ताल तलैया र सिमसार क्षेत्रमा जलपंछी गणना कार्य गरिएको थियो ।
‘यस वर्ष पनि यी क्षेत्रलाई निरन्तरता दिइने लक्ष्य राखेका छौँ,’ उनले भने, ‘गोक्यो, गोसाइँकुण्ड, माईपोखरी, फोक्सण्डो तालजस्ता हिमाली क्षेत्रका तालमा भने अझै नियमित गणना कार्य हुन सकेको छैन, यी ताल र अन्य संभावित सिमसार क्षेत्रमा चरा अवलोकनमा जानेको विवरण माग गरेका छौँ इच्छुक जो सुकैले जान सक्छन् ।’
विगतका वर्षझै यस वर्ष पनि तराई, भित्रि मधेश, रारा ताल, काठमाडौँ उपत्यका र पोखरा उपत्यका सबै प्रमुख सिमसार क्षेत्रमा जलपंछी गणना कार्य गरिने उनले बताए । भारतीय महादिपमा एशियाली जलपंछी गणना कार्य सन् १९८७ देखि वेटल्याण्ड्स इन्टरनेशनलले शुरु गरेको हो । यो कार्य शुरुमा एशियाको अफगानिस्तान, जापान, दक्षिण एशिया र अष्ट्रेलियामा गरिएको थियो ।
सन् १९८७ देखिनै नेपालमा पनि एशियाली जलपंछी गणना कार्य नियमित रुपमा हँुदै आएको छ । नेपालमा पहिलो गणना एक रामसार साईट र अन्य केही सिमसार क्षेत्रमा गरिएको थियो । त्यस पछि गणना कार्य निरन्तर रुपमा जारी रहेको छ । यस कार्यबाट सिमसार क्षेत्रको अवस्था, जलपंछीको प्रजनन्को अवस्था र जलवायू परिवर्तनको अवस्था बारे जानकारी पाउन सकिने उनी बताउँछन् ।
जलपंछी गणना सिमसारको स्वास्थ्य मूल्याङ्कन, जलवायु परिवर्तनको अवस्था बुझन, सिमसार संरक्षण योजना बनाउन र जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण रहेको उनको भनाइ छ । यसले रामसार महासन्धी, प्रवासी प्रजाती सम्बन्धी महासन्धी, जैविक विविधताको महत्वपूर्ण पंछी क्षेत्र कार्यक्रम, आइसियुएन रेड लिष्ट कार्यक्रम र वेटल्याण्ड्स इन्टरनेशनलको जलपंछी सङ्ख्या अनुमान कार्यक्रमजस्ता विभिन्न अन्र्तराष्ट्रिय सन्धि तथा अभियानको कार्यान्वयनमा पनि सहयोग पुर्याउने उनको बुझाइ छ ।
गत वर्ष सन् २०२४ मा गरिएको जलपंछी गणनामा देशभरका १८ प्रमुख सिमसार क्षेत्र अन्र्तगत ८४ वटा साना क्षेत्रमा ४०२ जना स्वयंसेवकले ७९ प्रजातीका ६३ हजार ९०० जलपंछी रेकर्ड गरेका थिए । यीमध्ये छ वटा रामसारमा सूचिकृत सिमसार क्षेत्र पनि थिए । बरिष्ठ पंछीविद् पौडयालका अनुसार यस वर्षको गणनाप्रारम्भीक नतिजा आगामी २ फ्रेवुअरी २०२५ मा विश्व सिमसार दिवसको अवसरमा सार्वजनिक गरिने छ ।
विस्तृत प्रतिवेदन भने आगामी वैशाख १ गते देखि ७ गतेसम्म मनाइने बन्यजन्तु सप्ताहका अवसरमा सार्वजनिक गरिनेछ । गत विगत वर्षको तथ्याङ्कको तुलनात्मक अध्ययनबाट जलपंछीको सङ्ख्या, विवरण र सिमसारको अवस्थाबारे महत्वपूर्ण जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ । स्थानीयरुपमा जलपंछी गणना कार्य गर्नका लागि स्वयंसेवकको रुपमा देशभर २४ जनालाई साइट–कोअर्डिनेटरका रुपमा खटाइएको छ ।
उत्तरी धुव्र रुस, चिन, मङ्गोलिया लगायतका अत्यधिक चिसो हुने क्षेत्रबाट हजारौँको सङ्ख्यामा चरा जाडो छल्न अनूकुल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा नेपालका विभिन्न ताल, तलैया, नदी र वनजङगल क्षेत्रमा आउने गर्दछन् । उत्तरी धुव्रमा हिउँ परेर तापक्रम निकै चिसो हुने भएकाले चरा बाँच्नका लागि अनुकूल तापक्रमको खोजिमा नेपालमा आउने गर्दछन् ।
यहाँका ताल तलैया, नदीमा माछा, किराफटयाङ्ग्राजस्ता खानेकुरा प्रचुर मात्रामा पाइने र विभिन्न संरक्षित क्षेत्रमा शिकारीबाट बच्ने कार्य सँगै सुरक्षित बासस्थान उपलव्ध हुने भएकाले चराका लागि अनुकूल वातावरण रहने गर्दछ । नेपालमा हिउँदमा बसाइँसराई गरी आउने जलपछीमा हाँसका विभिन्न प्रजाती, जलेवा, गङ्गाचील लगायत रहने गर्दछन ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कञ्चनपुर