दक्षिण कोरियामा देशका सेना र प्रहरी आमनेसामने हुने अनौठो परिस्थिति सिर्जना भएको छ । निलम्बित राष्ट्रपति योन सुक योललाई पक्राउ गर्न गएको प्रहरी र उनको रक्षार्थ खटिएका सेना आमनेसामने भएका हुन् । सोधपुछका लागि बारम्बार बोलाउँदा पनि अटेर गरेपछि युनविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
राष्ट्रपतिको निवासमा प्रहरी पस्न नदिन शुक्रबार रातिदेखि नै युनका समर्थकहरू बाहिर जम्मा भएर बसेका थिए । प्रवेशद्वारमा ठूलो ताल्चा झुण्ड्याइएको थियो ।शुक्रबार झिसमिसेमा प्रहरी त्यहाँ पुग्यो । तर, उनीहरूलाई राष्ट्रपति भवनको सुरक्षार्थ खटिएका सैनिकहरूले घेरा लगाएर रोके । थप प्रहरी पठाइयो । तर, उनीहरूभित्र पस्न सफल भएनन् ।
प्रहरीले जति प्रयास गर्दा पनि सैनिकहरू हट्न मानेनन् । घण्टौँ बित्यो । राष्ट्रपति निवासबाहिर युनका समर्थकहरू उत्तेजित हुन थाले । प्रहरी र सैन्य अधिकारीहरूबीच नै धक्कामुक्की भयो । अन्ततः प्रहरी फर्कियो । दक्षिण कोरियाको इतिहासमा यस्तो घटना पहिलोपटक भएको हो । पहिलोपटक पदमा रहेका राष्ट्रपतिले गिरफ्तारीको सामना गर्दैछन् ।
तीन साताअघि युनलाई महाभियोग लागेको थियो । त्यससँगै उनको शक्ति गुम्नुपर्ने हो । त्यही भएर नै प्रहरीहरू उनलाई पक्रिन पुगेका थिए । जसका लागि वैधानिक पक्राउ पुर्जी पनि उनीहरूसँग थियो । तर, युनको सुरक्षा टोलीले प्रहरीलाई रोकेपछि मुलुकको शासन सत्ता कसको हातमा छ भन्ने गम्भीर प्रश्न खडा भएको छ ।
युनमाथि अनुसन्धान गरिरहेका अधिकारीहरूले उनलाई समात्न नसकेर मात्र नभई आफ्नो सुरक्षामै चिन्ता उत्पन्न भएपछि पछि हटेको बताएका छन् । उनीहरूका अनुसार २ सय सैनिकहरू हतियार बोकेर राष्ट्रपतीय निवासको द्वारमा मानव पर्खालका रुपमा उभिएका थिए । खासमा यो युनको योजना अनुसार नै भइरहेको छ ।
गत महिना असफल सैन्य शासन घोषणाअघि उनले शक्तिशाली पदहरूमा आफ्ना वफादारहरूलाई नियुक्त गरेका छन् । तिनै वफादारमध्ये एकजना उनको सुरक्षा प्रमुख छन्, जो सेप्टेम्बरमा मात्र नियुक्त भएका हुन् । युनविरुद्ध राजद्रोहको आरोपमा अनुसन्धान हुँदैछ, जुन ठहर भए जन्मकैद वा मृत्युदण्ड पनि हुनसक्छ ।
त्यसैले युनले अनुसन्धानमा सकेसम्म बाधा उत्पन्न गरिरहेका छन् ।उनका कट्टर समर्थकहरू पक्राउ पुर्जी जारी भएदेखि नै लगातार राष्ट्रपतीय निवासबाहिर रातभर बस्ने गरेका छन् । विपक्षीले भने बाधा गर्ने सबैलाई प्रहरीले पक्राउ गर्नुपर्ने बताउँदै आएको छ । उनीविरुद्ध पक्राउ पुर्जीको म्याद जनवरी ६ मा समाप्त हुनेछ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं