सूचनाको शक्ति - The Power Of Information

        

नजिकिँदै माघी पर्व, थारु गाउँबस्तीमा रमझम

माघीका लागि दुना टपरी बनाउँदै थारु महिलाहरु ।

माघी आउन अझै ११ दिन बाँकी रहेपनि पश्चिम नेपालका थारु बाहुल्य जिल्ला बाँके र बर्दिया लगायतका अधिकांश थारु गाउँ बस्तीमा माघी पर्वको तयारीसँगै रमझम पनि सुरु भएको छ । दुबै जिल्लाका अधिकांश थारु बस्तीमा माघीका लागि आवश्यक माछा मार्नेलगायत कामको चटारो छ ।

माघी आउन केही दिन अझै बाँकी रहे पनि तयारी तीव्र रुपमा सुरु गरिएकाले रमझम बढेको बाँके मैटहवाका थारु अगुवा राजेन्द्र चौधरीले बताए । माघीको तयारी स्वरुप माछा मार्नेदेखि लिएर रोटी पकाउने लगायतका काम चलिरहेको र नाचगानको पनि रमझम सुरु भइसकेको चौधरीले बताए ।

बाँके नौबस्ताका अर्का थारु अगुवा शङ्करसिंह थारुका अनुसार जिल्लाका अधिकांश थारू गाउँमा अहिले माघीकै लागि सुँगुर घरघरमा बाँधेका देखिन्छन् भने महिलाहरु दुना टपरी गाँस्न र चामलको पिठोको तयारीमा व्यस्त देखिन्छन् । महिलाहरुले माघीमा जाँड र मासु खानका लागि दुना टपरी बनाउन लागेको थारुले बताए ।

नौबस्तामा दुना टपरी बनाउँदै आएकी पार्वती थारुले माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खानेकुराको जोहो गर्न लागेको बताइन् । बनकटुवाकी प्रिति चौधरी पनि माघीका लागि दुना टपरी बनाउनमै व्यस्त छन् । परिवारका सदस्यहरुसँगै बसेर दुना टपरी बनाउनमै व्यस्त रहेकी उनले माघीमा खानेकुरा दुनाटपरीमै राखेर दिने चलन रहेकाले तयारी गरिरहेको बताइन् । सोही गाउँकी निशा चौधरीले माघीका लागि अचार बनाउनमै व्यस्त रहेको बताइन् ।

उनले भनिन्, ‘एक महीना अगाडिदेखि नै पात र दाउराको जोहो गरेकी थिएँ ।’ मुला, अदुवा र टमाटर मिलाएर अचार बनाउँदै गरेकी निशाले माघीका लागि विशेष परिकारका रुपमा लिइने ढिकरी भने माघी आउन दुई चार दिन बाँकी रहँदा मात्र बनाउने बताइन् । अधिकांश महिलाले चामलको पिठो, घर लिपपोत, मासुको जोहो गरिसकेको जनाएका छन् । थारूको मौलिक संस्कृतिले भरिएको माघीलाई सबैभन्दा ठुलो पर्वको रूपमा लिइन्छ ।

प्रकाशित मिति : १९ पुष २०८१, शुक्रबार १७:२३

लोकप्रिय