गत शुक्रवार राति काठमाडौंको दरबारमार्गमा सत्तारुढ दल नेपाली कांग्रेसका कार्यकर्ताको ‘गुण्डाराज’ चल्यो । कांग्रेसका भातृ संगठन तरण दल र नेपाली विद्यार्थी संघ (नेविसंघ)मा आबद्ध नेताहरूले कांग्रेसकै कार्यकर्तामाथि मरणासन्न हुने गरी कुटपिट गरे । खुकुरी प्रहार गर्यो । खुकुरी हान्ने पनि कांग्रेसी, खाने पनि कांग्रेसी ।
कुटाइ खानेमा गृहमन्त्रीसमेत रहेको कांग्रेस नेता रमेश लेखकका ‘भान्जा’ रमेश भट्ट थिए । आफूलाई गृहमन्त्री लेखकको ‘भान्जा’ बताउने रमेश भट्ट ‘गुड फ्राइडे’ मनाउ शुक्रवार राति दरबारमार्गको लिक्विड लाउञ्ज बारमा पुगेका थिए । सो रेस्टुरेन्ट तरुण दलकै नेता ‘स्याल’ भनिने सञ्जीव लामाको हो । रमेश भट्ट राति अबेरसम्म उक्त रेस्टुरेन्टमा मदिरा पिउँदै बसे ।
यतिकैमा रातको एक–दुई बजे तरुण र नेविसंघका नेताहरू पनि सोही लाउञ्चबारमा पुगे । बार सञ्चालक सञ्जीवले रमेश भट्ट र तरुण दलका नेताहरूबीच चिनापर्ची गराए । मदिराको तालमा रमेश भट्टले आफू गृहमन्त्री रमेश लेखकको भान्जा भन्दै फुई लगाउन थाले । जुनकुरा अरुण दल र नेविसंघका नेताहरूलाई मन परेन ।
अर्को बारमा मदिरा पिएर लिक्विड लाउञ्ज बार पुगेका उनीहरूले रमेश भट्टसँग निहुँ खोज्न थाले । मदिराले लट्ठ तरुण दल र नेविसंघका नेताहरूले आफूहरू पनि कांग्रेसकै नेता भएको भन्दै फूर्ति लगाउन थाले । नक्कली भान्जाको धाक लगाएको भए जेल जाकिदिने धम्की दिए । आफूलाई गृहमन्त्रीको भान्जा बताउने रमेश भट्ट पनि के कम ।
‘मामा’को पावर देखाउँदै गर्जिए । उनले पनि ‘मामा’लाई भनेर तिमीहरूलाई नै जेलमा पुर्याइँदिन्छु भन्न भ्याए । विवाद चर्किँदै गयो । सत्तामा रहेको दल कांग्रेसको कार्यकर्ताको गुन्डागर्दीले दरबारमार्गमा मध्यरातमा कोलाहल मच्चियो । यतिकैमा रमेश भट्ट शौचालयतिर लागे । तरुण दल र नेविसंघका नेताहरूले रमेश भट्ट भाग्न लागेको ठाने ।
त्यसपछि शौचालयको ढोकैमा ढुकेर बसे । रमेश भट्ट शौचालयबाट निस्कनसाथ उनीमाथि हातपात भयो । त्यही ग्याङले खुकुरी समेत प्रहार गर्यो । घाइते रमेश भट्टको टाउकोमा गहिरो चोट लागेको छ । भट्टको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनापछि प्रहरीले तरुण दल र नेविसंघका आठ जान नेताहरूलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तरुण दलका केन्द्रीय सदस्य कुलध्वज तामाङ, काभ्रेका अध्यक्ष सुजन तामाङ, पब्लिक युथ क्याम्पस धोबिचौरका स्ववियु उपसभापति मिलन लामा, भुम्लु गाउँपालिका कार्यपालिका सदस्य सुलभ पहरी, तरुण दल काभ्रेका जिल्ला सदस्य युवराज लामा, मोरङका उर्लाबारी–७ का डम्बरबहादुर कार्की, तरुण दल सिन्धुपाल्चोकको जुगल गाउँपालिका अध्यक्ष दावा तामाङ र काभ्रे तेमाल–५ का शक्ति लामा रहेका छन् ।
पक्राउ परेका आठजनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको अनुमति पाएको छ । रेस्टुरेन्ट सञ्चालक सञ्जीवमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । अहिले ती गुण्डागर्दी गर्नेहरूलाई छुटाउन तरुण दल नै सक्रिय भएको छ ।
रमेश भट्टलाई मरणासन्न हुने गरी कुट्नेलाई छुटाउन तरुण दलका अध्यक्ष विधान गुरुङसहितको टोलीले गृहमन्त्री रमेश लेखकदेखि प्रहरीलाई समेत दबाब दिन थालेको छ । पक्राउ परेकालाई छुटाउनका निम्ति तरुण दलका अध्यक्ष गुरुङ गृहमन्त्रीलाई दबाब दिन कार्यकर्ताको टिम नै लिएर मन्त्री निवास धाउन थालेका छन् ।
कांग्रेसका केही शीर्ष नेतामार्फत नै प्रहरी र गृहमन्त्रीमाथि दबाब बढाएका छन् । तामाङविरुद्ध ०६९ सालमा पनि दरबारमार्गकै एउटा क्लबमा युवकमाथि कुटपिट गरेको आरोपमा पक्राउ गरेर प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो । उनी ०७२ सालमा काभ्रेमा बुद्धचित्तको माला लुटपाटको घटनामा ११ महिना जेल बसेर छुटेको समेत खुलेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं