सूचनाको शक्ति - The Power Of Information

        

नक्कली बुवा बनेर बहुविवाह गराएपछि…

नक्कली बुवा बनेर एक युवकको बहुविवाह गर्न मद्दत गरेका एक व्यक्ति पक्राउ परेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका–३ बस्ने ४२ वर्षीय वीरबहादुर ऐरलाई प्रहरीले नक्कली बुवा बनेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।

डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णुप्रसाद मालीको नक्कली बुवा बनेर ती युवकले मालीको दोस्रो विवाह गर्न भूमिका खेलेका थिए । करिब १० वर्षको छोरीसहितका बुवा रहेका मालीले आफू अविवाहित रहेको, इन्जिनियर भएको र अमेरिकाको भिजा लागिसकेको भन्दै एक किशोरीलाई सामाजिक सञ्जालबाट फकाएका थिए ।

बेदकोट नगरपालिका २ का जनकबहादुर धामीले पनि मालीले विवाह गर्ने तयारी गरेको किशोरीको पक्षलाई ‘केटो मेरो सालो हो निकै राम्रो छ,’ भन्दै उच्काएका थिए । २२ गते कञ्चनपुरको चेतन होटेलमा मालीले नक्कली अभिभावक खडा गरेर विवाह गरे ।

तर, त्यसको केही दिनभित्रै उनको पहिलो श्रीमतीले आफ्नो पतिले दोस्रो विवाह गरेको टिकटकमा हेरिन् । उनले त्यही कमेन्ट गरेपछि दोस्रो श्रीमती पक्षले मालीले ठगेर बहुविवाह गरेको थाहा पाएका थिए । दोस्रो श्रीमतीले जाहेरी दिएपछि पहिलो चरणमा माली र धामी पक्राउ परेका थिए भने नक्कली बुवा बनेका ऐरलाई प्रहरीले शनिवार पक्राउ गरेको थियो ।

उनीहरु तीनै जनाविरुद्ध मुद्दा दर्ता भई कारबाही प्रक्रिया अगाडि बढिसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिए । सहचालक रहेका विवाहित मालीले इन्जिनियर भएको र अमेरिकाको भिजा लागिसकेको भन्दै नक्कली अभिभावक बनाएर दोस्रो विवाह गरेका थिए ।

कसरी ढाँटेका थिए मालीले ?

डडेल्धुराका माली र कञ्चनपुरकी युवतीसँग सामाजिक सञ्जाल मार्फत नजिकिएका थिए । सबै भन्दा पहिले उनले युवतीलाई आफू अविवाहित रहेको, इन्जिनियर भएको र अमेरिकाको भिजा लागिसकेको भन्दै फकाए । मालीले बुवा आमासहितका अन्य परिवारका सदस्य पनि नक्कली खडा गरे ।

उनीहरुले पनि मालीले भने झै गरे । केही महिनापछि युवती विवाह गर्न राजी भइन् । २२ गते कञ्चनपुरको चेतन होटेलमा उनीहरुको विवाह भयो । ‘मेरो काकाको स्वास्थ्य अवस्था जटिल बन्दैछ, जतिबेला पनि नराम्रो खबर आउन सक्छ’ भन्दै मोबाइल बन्द गर्न लगाए र ५७ जनाको उपस्थितिमा मात्रै विवाह मण्डमा आए ।

गुपचुपमा विवाह भयो । धनगढी आए, बसे र भोली पल्ट डडेल्धुरा प्रस्थान गर्न थाले । त्यो बेलासम्म सामाजिक सञ्जाल फेसबुक र टिकटकमा विवाहको फोटा र केही दृश्यहरू आइसकेका थिए । मालीको पहिलो श्रीमतीले आफ्नो श्रीमानले अर्काे विवाह गरेको त्यहि टिकटकमा थाहा पाइन् र उनले त्यहि टिकटमा आफू पहिलो श्रीमती रहेको जानकारी गराइन् ।

मालीको पहिलो श्रीमतीको कमेन्ट देखेर दोस्रो श्रीमतीका परिवारका सदस्यहरू अचम्मित भए । परिवारमार्फत प्रहरीसम्म कुरा पुराएपछि उनले नक्कली अभिभावक खडा गरेर बहुविवाह गरेको पुष्टि भयो । दोस्रो श्रीमती लिएर डडेल्धुरा जाँदै गरेका माली २५ गते बुडर मै पक्राउ परे ।

मालीले आफूसँग विवाह गर्न गरेको नाटक सबै थाहा पाएपछि दोस्रो श्रीमतिले प्रहरीमा आफूलाई झुक्काएर विवाह गरेको भन्दै उजुरी दिइन् । युवतीको उजुरीपछि अहिले माली र उनलाई सहयोग गर्ने धामी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले अझै नक्कली बुवा र आमा बन्नेहरू पनि पक्राउ गर्न बाकी रहेको जनाएको छ । अहिलेसम्म माली सहचालक रहेको खुलेको छ । सहचालक रहेका विवाहित मालीले इन्जिनियर भएको र अमेरिकाको भिजा लागिसकेको भन्दै नक्कली अभिभावक बनाएर दोस्रो विवाह गरेका थिए ।

प्रकाशित मिति : ९ पुष २०८१, मंगलवार ०८:३८

लोकप्रिय