आज साँझबाट पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिनेछ । जसका कारण यस वर्षको हिउँदको दोस्रो वर्षा हुने सम्भावना छ । आज रातिदेखि बुधबार विहानसम्म देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले देशको पश्चिम भूभागमा आज दिउँसोदेखि बदली (आकाशमा बादल) हुने महाशाखाका मौसमविद् शान्ति कँडेलले बताइन् । ‘आज दिउँसोदेखि नै बादल र रातिदेखि बुधबार विहानसम्म वर्षा र हिमपातको सम्भावना छ,’ उनले भनिन् । उनका अनुसार, सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना छ ।
यी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । ‘वर्षा भनेर त्यस्तो ठूलो होइन, हल्का वर्षाको सम्भावना छ,’ उनले भनिन् । उनका अनुसार हिमपात भने हल्कादेखि मध्यमसम्मको हुने सम्भावना छ । यी चार प्रदेशका पनि सबै ठाउँमा पानी नपर्ने उनले स्पष्ट पारिन् । केही स्थानमा मात्र वर्षाको सम्भावना रहेको मौसमविद् कँडेलले बताइन् ।
मौसमविद् कँडेलले भनिन्, ‘त्यहाँ (पश्चिम भूभाग) जमिन भिज्ने पानी पर्ने सम्भावना छ । हिलो भयो भन्ने खालको वर्षाचाहिँ हुन्छ ।’ बदली, वर्षा र हिमपातसँगै चिसो बढ्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउनुपर्नेमा उनले जोड दिइन् । ‘घाम लाग्दैन, चिसो बढ्छ,’ कँडेलले भनिन् । उक्त अवधिमा वाग्मती प्रदेशका पनि केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।
तर, पश्चिम भूभागमा जस्तो यहाँ वर्षाको धेरै सम्भावना नदेखिएको उनले जानकारी दिइन् । मौसमविद् कँडेलका अनुसार, आउँदो मंगलबार काठमाडौंमा छिटपुट वर्षाको सम्भावना छ । ‘काठमाडौंमा मंगलबार फाटफुट पानी पर्ने सम्भावना छ,’ उनले भनिन्, ‘यहाँ जमिन भिज्ने गरी पर्दैन । अस्तिको जस्तो (मंसिर २३ र २४ गते हिउँदको पहिलो वर्षा) नै हुने सम्भावना छ ।’
तत्कालको अवस्थाबाट हेर्दा उक्त अवधिमा मधेस र कोसी प्रदेशमा वर्षाको सम्भावना छैन । तर, यो समग्र पूर्वानुमान हरेक दिन अध्यावधिक गर्ने गरिएको उनले बताइन् । पश्चिमी वायुका कारण विकसित वर्षा गराउने यो प्रणाली भोलिसम्म रहने सम्भावना छ । भोलि रातिदेखि त्यसको प्रभाव नरहने र क्रमिक रूपमा मौसम सफा हुने मौसमविद् कँडेलले जानकारी दिइन् ।
त्यसपछि फेरि वर्षा गराउने अर्को प्रणाली भित्रिने सम्भावना रहेको पनि उनले बताइन् । मौसमविद् कँडेलले भनिन्, ‘प्रणाली आउने जाने भइरहनेजस्तो सम्भावना छ । यसबारे हरेक दिन जानकारी लिइराख्दा राम्रो हुन्छ ।’ अरू केही मौसमविद्ले पनि सोमबार राति र मंगलबार वर्षाको सम्भावना औँल्याएका छन् ।
आगामी २४ घण्टा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताए । उनले पनि हिउँदे वर्षा आज रातिदेखि बुधबार बिहानसम्म पश्चिम नेपालमा हुने बताएका छन् । यसपटक पहाडी र हिमाली भेगमा वर्षा हुने राम्रो सम्भावना रहेको उनको भनाइ छ ।
कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दूई स्थानमा तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहान कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुनेछ ।
काठमाडौं र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद् पोखरेलले बताए । अर्को वर्षा गराउने प्रणाली फेरि शुक्रबार भित्रिदैछ । त्यसले पनि आधा पश्चिम नेपालमा मात्रै प्रभाव पार्ने उनले बताए । मौसम पूर्वानुमान महाशाखाका अनुसार गएको मंसिर २३ र २४ गते देशका केही स्थानमा यो वर्षको हिउँदको पहिलो वर्षा भएको थियो ।
आज बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, कृषि, यातायात तथा हवाई उड्डयनमा क्षणिक तथा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं