हिउँद याम लागेसँगै देशभर क्रमशः चिसो बढ्दै छ । हिमाली जिल्ला मनाङ लगायत क्षेत्रमा त अत्यधिक चिसो बढिसकेको छ । यहाँका नदी, खोला, धाराका पानी जम्न थालेका छन् तर यसपटक हिउँ भने परेको छैन । मुख्य समयमै हिउँ नपरेपछि स्थानीय चकित छन् ।
स्थानीय हिमपात हुनुपर्ने समयमा हिउँ नै नपर्दा नियमित चक्र बिथोलिने र कृषि उत्पादन घट्ने चिन्तामा छन् । मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका याङदुङ गुरुङ भन्छन्, ‘हामी खेती किसानी र पशुपालन गरेर जीविकोपार्जन गर्ने मान्छेलाई समस्या भएको छ । हिउँ नपरेपछि पानी हुँदैन, पानी नभए खेती । खै, के भएर होला ?’
आजकल समयमा हिउँ पर्न छोडेको गुरुङले बताए । समयमा हिउँ नपर्दा सिँचाइको अभावमा मुख्यगरी किसानलाई समस्या भएको गुरुङको भनाइ छ । ‘हिउँ परेको भए खेती पनि सप्रिन्थ्यो, त पानी नै पुग्दैन । किसानलाई त प्रकृतिले पनि ठग्न थाल्यो,’ उनले सुस्केरा हाल्दै भने । केही वर्ष पहिलेसम्म हिउँ परेर यहाँका हिमाल सेताम्मे हुन्थे ।
पर्याप्त पानी हुँदा किसान ‘मानो रोपी मुरी उब्जाउने’ काममा व्यस्त हुन्थे । अचेल भने न हिमाल सेता छन् न त किसानले सजह रूपमा कृषि कर्म गर्न पाएका छन् । प्रमुख जिल्ला अधिकारी मातृका आचार्य पनि पुस लागिसक्दा समेत हिउँ परेपछि चकित छन् । हिउँ नपरी चिसो अत्यधिक बढेकाले उनलाई प्राकृतिक नियम नै फेरिएजस्तो महसुस भइरहेको छ ।
‘जिल्लाका अधिकांश ठाउँमा चिसोका कारण पिउने पानीसमेत जमेका छन् तर हिउँ भने परेको छैन । जसले प्रकृतिको भरमा खेती गर्नुपर्ने किसान निराश छन् । नियमित प्राकृतिक चक्र नै बिथोलिन थालेकामा चिन्तित छौं,’ आचार्यले भने । पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङ विगत केही वर्षदेखि हिउँ पर्ने समय बदलिँदै गएको बताउँछन् ।
यसले उत्पादन घट्दै गएको र खेतीबाली नै परिवर्तन गर्नुपर्ने अवस्था आउन थालेको उनको अनुभव छ । ‘हिउँकै पानीले सिँचाइ हुने यहाँ हिउँ नै नपरेपछि पानीको अभाव देखिने नै भयो । प्राकृतिक स्वभाव फेरियो, अब हामीले पो कसरी फेरिने होला ? यस्तो अवस्थासँग कसरी अनुकूलित हुने होला !’, उनले गुरुङले जिज्ञासा राखे ।
स्थानीय फुर्वा छिरिङ लामाले पनि यहाँको हावापानीमा परिवर्तन भएको अनुभव गरेका छन् । उनी भन्छन्, ‘यतिबेला हिउँले सेताम्मे भएर घर बाहिर निस्कन वा कामकाज गर्नै सकस हुन्थ्यो । खै ! अचेल त हिउँ नै नपरी चिसो मात्रै बढ्छ । यो त अचम्मै भयो ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
नवीन लामिछाने । मनाङ