सूचनाको शक्ति - The Power Of Information

        

‘ट्यालेन्ट हन्ट’मा भेटिएका क्रिकेटर विपिन

विपिन शर्माको यो काम असाध्यै राम्रो मान्नुपर्छ । त्यसो त उनी नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणका सबैभन्दा कान्छा खेलाडीमध्ये एक हुन् । तर उनको काम भने कुनै परिपक्व व्यावसायिक खेलाडीको भन्दा कम छैन । बोलाइ र खेलाइ दुवैमा । कुरा के भन्दा कर्णाली याक्ससँग जोडिएयताका उनी प्रत्येक दिनलाई नोटबुकमा टिपिरहेका छन् । यो दिन यस्तो भयो, त्यो दिन त्यस्तो भयो भनेर ।

प्रशिक्षणबाट केही न केही त सिक्ने हुन्छ नै, त्यो पनि उनी टिप्छन् । अहिले नोटबुकमा जे–जति टिपोट गरिरहेका छन्, ती सबै आफ्नो खेल जीवनको कुनै न कुनै क्षण काम लाग्ने छ भन्नेमा विपिन विश्वस्त छन् । अझ उनी कति धेरै उत्साहित छन् भने जति बेला सुर्खेत फर्कने छन्, डायरीका पाना पल्टाउने छन्, साथीभाइलाई पनि देखाउने छन् । कुरा आफैंमा रोमाञ्चक छ । जति बेला एनपीएलको हालको संस्करण सकिनेछ, त्यति बेला नेपाली क्रिकेटले के उपलब्धि हासिल गर्यो भन्ने प्रश्न स्वभावतः उठ्ने नै छ, यस्तोमा जवाफ हुनेछ, विपिनजस्ता खेलाडीहरू ।

सबैभन्दा पहिले फ्ल्यासब्याकमै जाऔं न । एक महिनाभन्दा केही समय अगाडि विराटनगरमा नरेश श्रेष्ठ मेमोरियल यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता भएको थियो । त्यसमा विपिनले कर्णालीको प्रतिनिधित्व गर्दै खेलेका थिए । त्यसमा उनले आफ्नो बलिङबाट तहल्का नै मच्चाए । त्यसअघि उनी ठीकठाकका खेलाडी नै मानिन्थे । तर उनको भाग्यले पर्खिरहेको भने एनपीएल नै थियो । कर्णाली याक्सले चलाएको ‘ट्यालेन्ट हन्ट’ मा भाग लिए । र, छनोट पनि भए । त्यसपछि जे भयो, त्यो एउटा मीठो कथाजस्तै रह्यो ।

कर्णाली याक्सले बुधबार इलिमिनेटर खेल्नेछ, चितवन राइनोजविरुद्ध । तय जस्तै छ, विपिनले फेरि एकपल्ट खेल्न पाउने छन् । यसको आधार के भन्दा आफ्नो देब्रेहाते स्पिन बलिङको मद्दतले लगातार ६ खेल खेलिसकेका छन्, अब यो सिलसिला टुट्नेवाला छैन । उनले जारी एनपीएलका ६ खेलमा १२६ बल फाल्दै ९ विकेट लिइसकेका छन् । त्यो भनेको समग्रमा २१ ओभर हो । अझ त्यसमा दुई मेडन ओभर पनि समावेश छ । अनि १२७ रन भने खर्चेका छन्, झन्डै–झन्डै ६ को ‘इकोनोमी रेट’ सहित ।

उनले यी सबै खेलमा एक न एक विकेट लिएकै छन्, खाली हात हुनुपरेको छैन । त्यसमध्ये चितवन राइनोजविरुद्ध नै उनको प्रदर्शन सबैभन्दा राम्रो रहेको छ, मात्र २१ रन दिएर ३ विकेट । उनले खाली कर्णाली याक्सको पहिलो खेल मात्र खेलेनन् । काठमाडौं गुर्खाजविरुद्ध उनले पहिलो पटक खेल्न पाए र त्यसमा आफूलाई प्रमाणित पनि गरे । विपिनले कोरेको मीठो कथा आफैंमा स्वप्निल पनि छ । जस्तो, शिखर धवनले भारतका लागि पहिलो पटक ‘वान डे’ खेल्दा उनी सानै थिए, मात्र दुई वर्षका । धवनभन्दा पाकिस्तानका सोहेल तनवीर त अझ पुराना खेलाडी हुन् ।

उनले खेल्न सुरु गर्दा विपिन जन्मेकै थिएनन् । दुवै नामी खेलाडी । भलै दुवैले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइसके तर उनीहरूमा अझै दमचाहिँ उस्तै छ । संयोग कस्तो रह्यो भने विपिनले धवनसँग ड्रेसिङ रुम सेयर गर्न पाए । धवन भारत फर्किसके पनि आफ्नो छाप भने छाडे । विपिनले त्यो सबै नजिकबाट हेर्ने मौका पाए । उनले भनेका छन्, ‘धवन दाइसँग ब्रेकफास्ट र डिनरसँगै गर्दाको अनुभव नै बेग्लै ।’ प्रशिक्षक ज्ञानेन्द्र मल्लले उनलाई काठमाडौं गुर्खाजविरुद्ध ‘डेब्यु’ को मौका दिए ।

यी प्रशिक्षकले खेलअघि औपचारिक कुराकानीमा भनेका पनि थिए, ‘विपिनको स्पिन बलिङमा केही न केही त छ ।’ नभन्दै उनले काठमाडौं गुर्खाजका ओपनर माइकल लेभिटको विकेट पनि लिए । तर दुर्भाग्य, त्यो खेल भने कर्णालीले जितेन । चितवनविरुद्धको खेलमा भने विपिनले उत्कृष्ट नै प्रदर्शन गरे । उनले लिएका तीन विकेटमध्ये एक सिकार अरू कोही नभएर तनवीर थिए । त्यसैले उनी रहे, ‘प्लेयर अफ द म्याच’ पनि । एक प्रकारले उनी एनपीएल इतिहासमै यस्तो अवार्ड जित्ने कान्छो खेलाडी बने । आखिरमा उनको उमेर हो, १६ वर्ष २ महिना हाराहारीका ।

उनले विराटनगर किंग्सविरुद्धको खेलमा मार्टिन गप्टिलको पनि विकेट लिए । गप्टिल कुनै समय न्युजिल्यान्डका ओपनर थिए, उनी पनि विपिनकै सिकार बने । अझ लुम्बिनी लायन्सविरुद्धको खेलमा उनले बेन कटिङको विकेट पनि आफ्नो नाममा लेखाए । कटिङ आफ्नो समयका अस्ट्रेलियाली अलराउन्डर थिए । भनेपछि उनले लिएका विकेटको सूची बनाउँदा त्यसमा गप्टिल, तनवीर र कटिङ सबै परे । त्यसबाहेक पोखरा एजेन्जर्सका आन्द्रेस गौस, काठमाडौं गुर्खाजका माइकल लेभिटको विकेट पनि उनैले लिए । त्यसैले त जतिले उनको खेल हेरेका छन्, सबैले प्रशंसा मात्र गरिरहेका छन् ।

उनी आफैं भन्छन्, ‘मेरो आत्मविश्वास प्रत्येक खेलबाट बढिरहेको छ ।’ विपिनका सिनियर साथी खेलाडी जिसन मक्सुद भन्छन्, ‘विपिनमा धेरै क्षमता छ । आउने दिनमा उनको प्रदर्शन अझ राम्रो हुनेछ ।’ ट्यालेन्ट हन्टमा छानिएर यसपल्टको एनपीएल खेल्ने उनी एक्ला खेलाडी भने होइनन् । वसन्त कार्कीले सुदूरपश्चिमका लागि खेले, सुदीप अर्यालले पोखरा एभेन्जर्सका लागि । तर सबै अर्थमा निर्णायक, सफल र सटीक भने विपिन सावित भइरहेका छन् । विश्वास गरौं, अबका दिनमा उनी अझ उपयोगी खेलाडी भएर निस्कने छन् ।

स्रोत : ईकान्तिपुर
प्रकाशित मिति : ५ पुष २०८१, शुक्रबार १५:१४

लोकप्रिय